काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिएपछि १५ वाणिज्य बैङ्क मर्जरमा जाने भएका छन् । १५ वाणिज्य बैङ्कका साथै एक विकास बैङ्क र नेपाल लघुवित्त बैङर्स संघले मर्जरमा जाने प्रतिवद्धता जनाएका छन् ।
एनएमबी, सनराइज, माछापुच्छ्रे, नेपाल क्रेडिट एन्ड कमर्श, सानिमा, सिभिल, नेपाल एसबीआई, सेञ्चुरी कमर्शियल, कुमारी, एनआईसी एसिया मेगा, र नेपाल इन्भेस्टमेन्ट बैङ्कले मर्जरमा जाने प्रतिवद्धता जनाएको राष्ट्र बैंकका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले क्यापिटल नेपाललाई बताए ।
ग्लोबल आईएमई र जनता बैङ्कबीच मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । अन्य बैङ्कले एमओयू गरेको नभई मर्जरमा जाने प्रतिवद्धता मात्र जनाएको उनले जानकारी दिए । विकास बैङ्क मध्ये साङग्रीला विकास बैङ्कले पनि मर्जरमा जाने प्रतिवद्धता जनाएको छ ।
नेपाल लघुवित्त बैङ्कर्स एसोसियसनले पनि मर्जरमा जाने प्रतिवद्धता जनाएको उनले बताए । लघुवित्त संस्थाको एसोसियसनबाट मात्र प्रतिवद्धता आएको उनले जानकारी दिए । केही लघुवित्त संस्थाले मर्जरमा जानका लागि एमओयू गरिसककेका छन् ।
आइतबार सिटिजन्स बैङ्कले क्षेत्रियस्तरको सहयोगी विकास बैङ्कलाई एक्वायर गर्नका लागि एमओयू गरेको छ । वाण्ज्यि बैङ्कसंग भन्दा पनि क्षेत्रियस्तरको विकास बैङ्कलाई प्राप्ति गर्ने तयारी सिटिजन्सको छ । प्राइमले कन्काइ र कैलाश विकास बैङ्कका साथै ललितपुुर फाइनान्सलाई एक्वाएरका लागि एमआयू गरेको छ ।
गभर्नर डा. चिरञ्जिवि नेपालले मर्जरका लागि मौद्रिक नीति आउनु अगावै प्रतिबद्धता ल्याउन निर्देशन दिएपछि १५ वाणिज्य बैङ्क र एक विकास बैङ्क तयार भएका हुन् । फाइनान्स कम्पनीबाट एउटा पनि मर्जरका लागि प्रतिबद्धता नआएको निरौलाको भनाई छ ।
बैङ्क अफ काठमाण्डु, प्रभु, सिद्धार्थ, एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बंगलादेश, कृषि विकास र नेपाल बैङ्कबाट प्रतिवद्धता आएको छैन ।
एभरेष्ट, स्ट्याण्डर्ड चाटर्ड वेग्लै प्रकृतिका बैङ्क भएकाले मर्जर फरक हुन सक्ने निरौलाले स्पष्टपारे । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कको विषयमा सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।