काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा कर्जाको ब्याजदर घटेर ११.९४ प्रतिशतमा झरेको छ ।
गत वर्षको सोही अवधिमा कर्जाको ब्याजदर १२.२९ प्रतिशत थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा कर्जाको ब्याजदर ०.३५ प्रतिशत विन्दुले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष सुरु भएयता बैंकको ब्याजदरमा कमी आउन थालेको छ । बैंकहरु कर्जा विस्तारमा आक्रमक नभएपछि ब्याजदर कम हुँदै गएको हो ।
बैंकहरुको आधार दर कम भएपछि यसको असर कर्जाको ब्याजमा परेको हो । ६ महिनामा वाणिज्य बैंकहरुको आधारदर घटेर औसत ९.४५ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा आधारदर ९.८० प्रतिशत थियो । निक्षेप लागत, सीआरआर, एसएलआर र प्रशासनिक खर्च जोडेर आधारदर तय हुन्छ ।
कर्जाको ब्याजदर घटेपनि निक्षेपकर्ताले पाउने ब्याजदर भने बढेको छ । चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा निक्षेपको ब्याजदर ६.७२ प्रतिशत थियो ।
बैंकहरुबीच हुने अन्तर–बैंक कारोबारको औसत ब्याजदर घटेर १.७६ प्रतिशतमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कारोबारको ब्याजदर २.८४ प्रतिशत थियो ।
कर्जा परिचालन भन्दा निक्षेप बढी
पुससम्म वाणिज्य बैंकहरुको निक्षेप परिचालन १६.३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कर्जाको वृद्धि १५.१ प्रतिशत रहेको छ ।
अघिल्ला वर्षहरुमा बैंकहरुले निक्षेप भन्दा कर्जा लगानी विस्तार गर्दा प्रणालीमा क्रेडिट क्रञ्चको अवस्था आएको थियो । ६ महिनामा वाणिज्य बैंकहरुले २ खर्ब ४९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । हालसम्म बैंक तथा वित्तीय संस्थाले ३१ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन ।
यस्तै ६ महिनामा बैंकहरुले २ खर्ब ५ अर्ब ५२ करोड रुपैयाँ निक्षेप परिचालन गरेका छन । बैंकहरुमा ३५ खर्ब ५९ अर्ब १९ करोड रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ ।