काठमाडौं। अर्थ मन्त्रालय र निजी क्षेत्रबीच सुमधुर सम्बन्धमार्फत अर्थतन्त्रमा देखिएको तमाम समस्या समधान गर्नुपर्ने बेलामा अर्थमन्त्री विष्णु पौडेल निजी क्षेत्रका कार्यक्रममा अनुपस्थित देखिए।
नीतिगत सुधारमार्फत आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने, निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्ने भूमिकामा छन् अर्थमन्त्री पौडेल। यहीबीचमा नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री र उद्योग मन्त्रीसहित अन्य मन्त्रीहरु सहभागी हुँदा अर्थमन्त्री देखिएनन्।
अर्थ मन्त्रालय बजेट निर्माणको चरणमा छ। अर्थमन्त्री विभिन्न क्षेत्रका विज्ञहरुसँग सघन छलफल गरिरहेका छन्। यहीबीचमा निजी क्षेत्रका दुई ठूला कार्यक्रम अर्थमन्त्रीलाई बजेट निर्माणमा सहयोग पुग्न सक्थ्यो। त्यहाँ विभिन्न क्षेत्रसँग प्रतिनिधित्व व्यवसायीहरु एकै ठाउँ उपस्थित हुन्थ्ये। त्यहाँ व्यक्त हुने धारणाहरु बजेट निर्माणका लागि उपयोगी हुन्थ्यो। तर, अर्थमन्त्री पौडेल दुवै कार्यक्रममा सहभागी भएनन्। आयोजकका अनुसार विशेष मन्तव्यसहित अर्थमन्त्री पौडेललाई बोलाइएको थियो।
दुवै आयोजकले अर्थमन्त्रीलाई निम्तो गरेपनि बजेट सम्बन्धी महत्वपूर्ण छलफल गर्नुपरेकोले उपस्थीत हुन नसकेको अर्थमन्त्री निकट श्रोतको भनाइ छ। पछिल्लो केहि दिनदेखि अर्थमन्त्रीले विभिन्न विज्ञहरुसँग बजेट सम्बन्धी सघन छलफल गरिरहनु भएको छ, अर्थमन्त्री निकट श्रोतले भन्यो, जसको कारण दुवै संस्थाको कार्यक्रममा जान पाउनु भएन, प्रधानमन्त्री र अन्य मन्त्रीबाट कार्यक्रममा प्राप्त सुझावलाई उहाँले लिनुहुन्छ।
सामान्यतया, निजी क्षेत्रको लागि अन्य मन्त्रीभन्दा प्राथमिकतामा अर्थमन्त्री नै पर्ने गर्छ। अधिकांश कार्यक्रममा अर्थमन्त्री नै उपस्थिति हुने गर्छन। निजी क्षेत्रका एक प्रतिनिधिका अनुसार अर्थमन्त्री पौडेलले पछिल्लो समय प्रधानमन्त्री उपस्थित भएको कार्यक्रममा नबोलाउन अनुरोध गर्दै आएका छन्।
बजेट निर्माणको क्रममा निजी क्षेत्रले अर्थमन्त्री र अर्थसचिवसहितको टिमलाई बोलएर सुझावसमेत दिने गरेको छ। तर, त्यही निजी क्षेत्रको सबै प्रतिनिधि सहभागी भएको ठाउँमा अर्थमन्त्री उपस्थिति नभएपछि व्यवसायी चकित भएका छन्।
यसअघिका कार्यक्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री पौडेलसमेत जाने गरेका थिए।
‘एकै कार्यक्रममा प्रधानमन्त्री र अर्थमन्त्रीसहित धेरै मन्त्रीहरु जाँदा आयोजकलाई पनि दबाब हुने भएकाले पनि उहाँ नजानु भएको छ,’ ती अधिकारीले भने, ‘प्रधानमन्त्री भएपछि अन्य मन्त्रीहरु जानु र नजाउनुको औचित्य हुँदैन, प्रधानमन्त्रीले भनेको सबैले मान्ने गरेको छ।’
महासंघको कार्यक्रममा सात जना मन्त्री
विहीबार होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहित सात जना मन्त्रीहरुको उपस्थीति रहेको थियो। कार्यक्रममा उपसभामुख इन्दिरा राणा सहित गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, वनमन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल उपस्थित भएका थिए।