काठमाडौं। शनिबार साँझ ५ बजेदेखि करिब चार घण्टासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अन्धकार छायो। विद्युत सर्टका कारण सम्पूर्ण रनवे ‘एज-लाइट’ बन्द भएपछि देशको अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण पूर्ण रुपमा रोकियो। यस घटनाले नेपालकै अन्तर्राष्ट्रिय छवि मात्रै होइन, प्राविधिक तयारी र व्यवस्थापन क्षमतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।
विमानस्थल सञ्चालन इतिहासमै पहिलो पटक धावनमार्गमा विद्युत सर्ट भएर सबै लाइट बन्द भएको यो घटनालाई नागरिक उड्डयन क्षेत्रमा अत्यन्तै गम्भीर रुपमा लिइन्छ। विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले तत्कालै आन्तरिक छानबिन समिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार इन्जिनियर विभाग प्रमुखको संयोजकत्वमा विज्ञ समूहले घटनाको कारण र दीर्घकालीन समाधानका उपाय खोज्ने छ। ‘घटना किन भयो? भविष्यमा यस्तो पुनः नहोस् भन्ने उपाय खोज्न अध्ययन समिति बनाइएको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा स्थायी सुधारका कदम चालिने छन्।’
शनिबारको घटनाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको संवेदनशीलता र पूर्वतयारी कति कमजोर छ? भन्ने प्रष्ट पारिदिएको विमानस्थलका एक पूर्वमहाप्रबन्धकको भनाइ छ।
विमानस्थलका एक प्राविधिक अधिकारीका शब्दमा ‘त्रिभुवन विमानस्थल आइएफआर प्रणालीमा सञ्चालन हुन्छ, जसमा रनवे एज-लाइटिङ अनिवार्य हुन्छ।
विद्युत सर्टका कारण धेरै उडानहरू अवरुद्ध भए। कतिपय विमानलाई वैकल्पिक गन्तव्यतर्फ पठाइयो भने केहीले लामो समय आकाशमै होल्ड गर्नु पर्यो। यात्रुहरूलाई असुविधा, एयरलाइनहरूलाई आर्थिक क्षति र नेपाललाई अन्तर्राष्ट्रिय बेइजत- तीनै प्रभाव एउटै घटनाबाट देखा परे।
विमानस्थलका एक प्राविधिक अधिकारीका शब्दमा ‘त्रिभुवन विमानस्थल आइएफआर प्रणालीमा सञ्चालन हुन्छ, जसमा रनवे एज-लाइटिङ अनिवार्य हुन्छ। त्यो बन्द भएपछि दृश्यता शून्य बराबर हुन्छ। कुनै जहाज अवतरण गर्न सक्दैन। यो केवल लाइटको समस्या होइन, सम्पूर्ण एयरफिल्ड सुरक्षा प्रणालीको असफलता हो।’
कस्तो हुन्छ लाइटिङ सिस्टम?
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार त्रिभुवन विमानस्थलको धावनमार्गमा पाँच प्रकारका लाइटिङ प्रणाली छन्। यीमध्ये शनिबारको सर्ट रनवे ‘एज-लाइट’ सर्किटमा आएको हो। प्रत्येक साइडमा ५८ वटा एज लाइट हुन्छन, जुन दुई सर्किटमा विभाजित छन्- अड र इभन।
सामान्य अवस्थामा एउटा सर्किट बिग्रिए पनि अर्कोले काम गर्न सक्छ। तर, यो पटक दुवै सर्किट बिग्रेपछि धावनमार्ग पूर्ण रुपमा अन्धकारमा परिणत भयो।
शनिबार बिहानदेखि बिग्रिएको थियो लाइट
विमानस्थलमा दैनिक तीन पटक- बिहान, दिउँसो र राति धावनमार्ग निरीक्षण गरिने प्रावधान छ। टर्मिनल ड्युटी अफिस (टिडिओ)ले प्रत्येक पटक लाइटको अवस्था, पंक्षी वा अन्य वस्तुहरूको उपस्थिती र सुरक्षासम्बन्धी परीक्षण गर्ने गर्छ।
तर, शनिबार साढे चार बजेदेखि लाइट बिग्रिए पनि दिउँसोको सिफ्टमा मर्मत हुन नसकेको तथ्य सार्वजनिक भएको छ। यसले प्रष्ट रुपमा मर्मत प्रणाली प्रतिक्रियात्मक मोडमा मात्रै चलेको देखाउँछ। नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको इलेक्ट्रिकल शाखा नियमित मर्मतका लागि जिम्मेवार भए पनि उपकरण पुराना र जनशक्ति सीमित छन।
एक वरिष्ठ इन्जिनियरका अनुसार रनवे जस्तो संवेदनशील क्षेत्र २४ सैँ घण्टा स्ट्यान्डबाइ मर्मत समूहको निगरानीमा हुनुपर्छ। तर, हाल यो केवल कागजमा सीमित छ।
यही प्रणालीमा धेरै तारहरू एकै ठाउँमा जोडिएका हुन्छन्। सिभिल, रेडियो, राडार र मौसम उपकरणका तार एउटै क्षेत्रमा बिछ्याइएका छन्।
त्रिभुवन विमानस्थलको लाइटिङ प्रणाली भूमिगत जडान भएको हुन्छ। दुई प्रकारका प्रणाली प्रयोगमा छन्- सामान्य भवनहरूका लागि जनरल लाइटिङ र रनवे तथा ट्याक्सी वेका लागि एयरफिल्ड लाइटिङ (एएफएल)।
यही प्रणालीमा धेरै तारहरू एकै ठाउँमा जोडिएका हुन्छन्। सिभिल, रेडियो, राडार र मौसम उपकरणका तार एउटै क्षेत्रमा बिछ्याइएका छन्। निर्माण वा मर्मतका क्रममा कुनै तार काटिँदा वा जोडिँदा सम्पूर्ण सर्किटमा असर पर्न सक्छ।
प्राविधिकहरू भन्छन, ‘जहाँ जोइन्ट हुन्छ, त्यहीँ समस्या सुरु हुन्छ। शरीरमा क्यान्सर भएको ठाउँमा डेड सेल जस्तै, रनवेमा जोइन्ट नै दीर्घकालीन कमजोरी हो।’ घटनापछि विमानस्थलभित्र मानवीय संलग्नताको आशंकासमेत उठ्न थालेको छ। केही अधिकारीका अनुसार कसैले जानीजानी तार काटेको हुनसक्छ।
महाप्रबन्धक पाण्डेले यसबारे स्पष्ट प्रतिक्रिया नदिँदै भने, ‘हामी अनुमानमा जान चाहँदैनौँ। अध्ययन प्रतिवेदनपछि मात्र तथ्य बाहिर आउने छ। तर, यो घटनाले आन्तरिक प्रणालीगत कमजोरी उजागर गरेको छ।’
यो घटना केवल एउटा विद्युत सर्ट होइन, विमानस्थलको व्यवस्थापन संस्कृतिको दर्पण पनि हो। नेपालको एक मात्र अन्तर्राष्ट्रिय प्रवेशद्वार, जहाँ हरेक मिनेटमा लाखौँ रुपैयाँको कारोबार र यात्रुहरूको जीवन दुवै निर्भर गर्छ। त्यहाँ नियमित निगरानीसहित समयमा मर्मत र जिम्मेवारीको स्पष्टता अझै कमजोर देखिन्छ।
चार घण्टासम्म रनवे बन्द हुँदा भएको आर्थिक क्षति मात्रै होइन, अन्तर्राष्ट्रिय विश्वसनीयतामा परेको धक्का पनि सानो छैन। विदेशी एयरलाइन र यात्रुका नजरमा त्रिभुवन विमानस्थल ‘जोखिमयुक्त’ ठहरिनु नेपालका पर्यटन र व्यापार दुवैका लागि नकारात्मक सन्देश भएको विज्ञहरुको भनाइ छ।
प्राधिकरणका अनुसार अब दीर्घकालीन सुधारका लागि केबल म्यापिङ अद्यावधिक, भूमिगत जोइन्ट पुनर्निर्माण र स्वतः अलर्ट प्रणाली स्थापना गर्ने तयारी भइरहेको छ।