नवलपरासी। नेपालकै ख्याति प्राप्त धुलिखेल अस्पतालको टोली लिएर सांसद विनोद चौधरीले पश्चिम नवलपरासीमा रहेको चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल)को अवलोकन गरेका छन्। चौपता अस्पताललाई धुलिखेल अस्पतालको आउटरिच अस्पतालका रूपमा सञ्चालन गर्ने उद्देश्यका साथ उनी पुगेका हुन्।
बर्दघाट नगरपालिका १४ मा रहेको अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय र व्यवस्थित बनाउन सांसद चौधरीसहित धुलिखेल अस्पतालको टोलीले स्थलगत अवलोकन गरेको हो।
पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीको पहलमा धुलिखेल अस्पताल र बर्दघाट नगरपालिको समन्वयमा उक्त अस्पतालमा सेवा विस्तारको तयारी गएको हो। धुलिखेल अस्पतालका चिकित्सकको टोलीले अस्पतालको अवलोकनका गर्नुका साथै अस्पताललाई कसरी प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्न सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल अघि बढाएको हो।
सांसद चौधरीले नगरपालिका र धुलिखेल अस्पतालको समन्वयमा शहिद स्मृति सामुदायिक अस्पतालको सेवा बिस्तार गर्नसके स्थानीय जनतामा सुविधा हुने विश्वास व्यक्त गरे।
यस्तै, सांसद चौधरीकै पहल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको समन्वयमा रोटरी क्लव अफ धुलिखेलले ६ वटा डायलासिस मेसिन उपलब्ध गराएको थियो । मेसिन सञ्चालन र यसको प्रयोगबारे धुलिखेल अस्पतालले चौपता अस्पतालका कर्मचारीलाई तालिम दिने काम भइरहेको छ ।
धुलिखेल अस्पतालको आउटरिच सेन्टरका रुपमा चौपत्ता अस्पताल सञ्चालन भए नवलपरासीका मात्रै नभई नजिकका जिल्लाका नागरिकलाई पनि विशेषज्ञसहितको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ। स्वास्थ्य सामग्री राम्रो भएर पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको चौपत्ता अस्पताललाई सांसद चौधरीले सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्न खोजेका हुन्।
शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेण्डा बनाएका सांसद चौधरीले निर्वाचनका समयमा सो अस्पताललाई त्यस क्षेत्रकै एउटा नमूना र रिफरर अस्पतालको रुपमा संचालन गर्ने घोषणा गरेका थिए। धुलिखेल अस्पतालको टीमले चौपत्ता अस्पतालको भौतिक अवस्थादेखि अन्य पूर्वाधारका विषयमा अवलोकन गरेको छ। धुलिखेल अस्पतालको सहजीकरणमा सञ्चालन भए चौपत्तामा भर्ना हुने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यहाँ उपचार हुन नसकेका विरामीहरूलाई धुलिखेल अस्पतालमा उपचार गरिने छ।
सांसद चौधरीकै पहलमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको काँचुली फेरेको छ भने बर्दघाटमै ट्रमा सेन्टर निर्माण कार्य भइरहेको छ। काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा बन्ने भएपछि जिल्लाबासी खुसी भएका छन्।