काठमाडौ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले एक आपसमा गाभ्ने (मर्जर) नीतिलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘असीमित समय कसैलाई हुँदैन, अब हामीलाई सहयोग गर्नुस्’ उनले भने ।
राष्ट्र बैङ्कले सोमबार राजधानीमा आयोजना गरेको मौद्रिक नीतिमाथि सुझाव सङ्कलन कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैङ्कको पुँजी ५० करोडबाट २ अर्ब रुपैयाँ पुर्याउन लामो समय लागेकाले अब लामो समय नदिने स्पस्ट पारेका छन् । सबैको सल्लाहले मौद्रिक नीति ल्याउने गरे पनि पछि गुनासो आउने गरेको स्मरण गर्दै उनले मौद्रिक नीति कार्यान्यनमा सहयोग गर्न आग्रह गरे ।
सो अवसरमा नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैङ्क तथा वित्तीय संस्थाको फोर्स मर्जर फाइदाजनक नभएको बताएका छन् । बैङ्कलाई फोर्स गर्नुभन्दा प्रोत्साहन मर्जर बढी प्रभावकारी हुने उनको तर्क छ । सङ्घले यसअघि राष्ट्र बैङ्कलाई मर्जरमा जान स्प्रेड दर, सीईओको कुलिङ पिरियड हटाउने लगायतका २७ बुँदे सुझावहरु दिइसकेको जानकारी गराए ।
विगत दुई वर्षदेखि लगातार तरलताको चापका कारण ब्याजदर बढेका कारण भद्र सहमति गर्नुपरेको उनले बताए । ‘आगामी दिनमा हामीले ब्याजदरमा सहमति गर्न नपरोस्’ उनले भने, ‘ब्याजदर बजारले नै निर्धारण गर्ने खालको मौद्रिक नीति ओस् भन्ने हाम्रो सुझाव हो ।’
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैङ्कहरुको फोर्स मर्जर गर्न नहुने सुझाव दिएका छन् । उनले बैङ्क मर्जरलाई बिहेको रुपमा व्याख्या गरिएको छ भन्दै त्यो त विवाहभन्दा पनि बढी जटिल हुने बताए ।
विकास बैङ्कर्स सङ्घका अध्यक्ष गोविन्द ढकालले स्प्रेडदरमा राष्ट्र बैङ्कले पुनर्विचार गर्नुपर्ने बताए । उनले ऋणको मात्रै नभएर निक्षेप कर्जाका समस्या पनि सम्बोधन गर्नुपर्ने बताए । नेपाल वित्तीय संस्था सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले सीसीडी रेसियो खुकुलो बनाउनु पर्ने, स्प्रेडदर घटाउनुपर्ने लगायतका माग गरे ।