काठमाडौं। अब नेपाल सरकारले सगरमाथा चढ्न चाहने आरोहीलाई कम्तीमा एक पटक नेपालको ७ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गरेको प्रमाण पेश गर्न अनिवार्य बनाउने तयारी गरेको छ। यसका लागि तयार गरिएको नयाँ कानुनको मस्यौदा राष्ट्रियसभामा दर्ता भइसकेको छ।
पर्यटन, ट्रेकिङ र पर्वतारोहणबाट विदेशी मुद्रा आर्जन गर्ने नेपालको मुख्य स्रोत हो। तर, धेरै संख्यामा अनभिज्ञ आरोहीहरूलाई सगरमाथा आरोहणको अनुमति दिँदै आएको भन्दै नेपाल विगतमा आलोचित हुँदै आएको छ।
अनुभव नभएका आरोहीका कारण सगरमाथाको ‘डेथ जोन’ मा भीडभाड बढ्ने गरेको छ। जहाँ पर्याप्त अक्सिजन नहुँदा जोखिम बढ्ने गर्छ। भीडकै कारण २०२३ मा सगरमाथा आरोहणका क्रममा १२ जना आरोहीको मृत्यु भएको थियो भने ५ जना हराएका थिए। सो वर्ष नेपालले ४७८ वटा आरोहण अनुमति दिएको थियो।
कसरी बदलिन्छ नियम?
प्रस्तावित कानुनअनुसार अब सगरमाथा चढ्न चाहनेले कम्तीमा एक पटक नेपालको ७ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक चढेको प्रमाण पेश गर्नुपर्ने छ। साथै, आरोहीलाई साथ दिने सर्दार र गाइड दुवै अनिवार्य रूपमा नेपाली नागरिक हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।
विदेशी आरोहण संस्थाहरूको प्रतिक्रिया
अन्तर्राष्ट्रिय आरोहण संस्थाहरूले भने नेपाल सरकारले अन्य देशका ७ हजार मिटरभन्दा अग्ला हिमालहरूमा चढेको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग गरेका छन्।
अष्ट्रियाको फुर्टेनबाख एड्भेन्चर्सका लुकास फुर्टेनबाखले भने, “सिर्फ नेपालको हिमालहरू मात्र होइन, अमा दब्लाम, अकोन्कागुवा, डेनालीजस्ता करिब ७ हजार मिटरका अन्य विश्व प्रसिद्ध हिमालहरूलाई पनि समावेश गर्नु उपयुक्त हुन्छ।”
फुर्टेनबाखले नेपाली गाइड मात्र नभई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गाइडहरूलाई पनि सगरमाथा आरोहणमा अनुमति दिनुपर्ने सुझाव दिएका छन्।
“हामीले युरोपका एल्प्स क्षेत्रमा नेपाली गाइडहरूलाई स्वागत गर्छौं, त्यसैले नेपालले पनि विदेशी प्रमाणित गाइडहरूलाई अवसर दिनुपर्छ,” उनले भने।
अमेरिकास्थित म्याडिसन माउण्टेनीयरिङका ग्यारेट म्याडिसनले रोयटर्सलाई भने, “नेपालमा उपयुक्त ७ हजार मिटर हिमाल पाउन गाह्रो छ। ६,५०० मिटरभन्दा अग्ला कुनै पनि हिमाल चढेको अनुभव पर्याप्त हुन सक्छ।”
नेपालको पर्यटन विभागका अनुसार देशभर ४०० भन्दा बढी हिमालहरू आरोहणका लागि खुला छन्। जसमध्ये ७४ वटा हिमाल ७ हजार मिटरभन्दा अग्ला छन्। तर पर्वतारोहण व्यवसायीहरू भन्छन्, तीमध्ये धेरैजसो हिमालहरू लोकप्रिय छैनन्।
१४ पिक्स एक्सपेडिशनका तासी ल्हाक्पा शेर्पाले भने, “७ हजार मिटरका थोरै हिमालहरूले मात्र आरोहीलाई आकर्षित गर्छन्।” तासीले आठ पटक सगरमाथा आरोहण गरिसकेका छन्।