काठमाडौं। नेपाल बिमा प्राधिकरणले विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँग बिमा सम्बन्धि अन्तरक्रिया गरेको छ। आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा नेपालका विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँग बिमा सम्बन्धि समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
बिमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि प्राधिकरणले गर्दै आएका कार्य र विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यका बारेमा जानकारी दिने र आगामी दिनमा साझेदारी तथा सहकार्यका सम्भावित क्षेत्र, जनशक्ति विकास, दुर्गम एवम् ग्रामीण क्षेत्रमा बिमाको दायरमा विस्तार र सहकार्यलाई समन्वयात्मक रूपमा अझ बढी प्रभावकारी रूपले अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रको विकास एवम् पहुँच विस्तार गर्दै आमनागरिकलाई लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउन विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य महत्वपूर्ण रहेको बताए।
उनले नेपालको बृहत्तर हितका लागि सहयोग गर्ने विकासका साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाको उद्देश्य रहेको हुँदा सोही अनुसार दुर्गम एवम् ग्रामीण क्षेत्रका नागरिकलगायत सबैले लाभ पुग्ने गरी बिमालाई अगाडि बढाउनका लागि यस सम्बन्धी विज्ञता, ज्ञान र अनुभव आदान–प्रदान गर्ने कार्यमा सम्बद्ध सबैबाट नियमितरूपमा सहयोगको अपेक्षा गरिएको बताए।
कार्यक्रममा नेपालका विकासका साझेदार निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपालमा जोखिममा आधारित पूँजी, नियमन र बिमादरका सम्बन्धमा बिमा प्राधिकरणले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताए। उनीहरूले बिमा क्षेत्रको विकासलाई अपेक्षित रूपमा अगाडि बढाउनका लागि बिमा क्षेत्रमा डिजिटलाइजेशन कार्यान्वयन, बिमा सम्बन्धी ज्ञान र अनुभव आदान–प्रदान गर्नका लागि संस्थागत व्यवस्था र अनुभव आदान–प्रदान गर्न छुट्टै प्लेटफर्म स्थापनालगायतका कार्य गरेर नेपालको बिमा क्षेत्रमा थप विकास गर्न सकिने धारणा राखेका थिए।