काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीको धारणा बुझ्न र सेवाको गुणस्तर मापन गर्न ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सुरु गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार यो सर्वेक्षण देशका सबै जिल्लामा सञ्चालन गरिने छ।
सर्वेक्षणका लागि वैज्ञानिक पद्धति अपनाएर सबै प्रकारका स्थानीय तहका वडाबाट कुल १० हजार ४०५ वटा नमूना संकलन गरिने बैंकले जनाएको छ। यो सर्वेक्षणमार्फत वित्तीय सेवामा ग्राहकको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता, बैंकहरूको गुनासो व्यवस्थापन प्रणाली र वित्तीय ग्राहक संरक्षणका उपायबारे सेवाग्राहीको धारणा र अनुभव संकलन गरिने छ।
राष्ट्र बैंकले यस सर्वेक्षणबाट प्राप्त हुने नतिजालाई आगामी दिनमा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न प्रयोग गर्ने लक्ष्य राखेको छ। ग्राहकको वास्तविक अनुभवका आधारमा वित्तीय क्षेत्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो अध्ययन कोशेढुंगा सावित हुने बैंकको अपेक्षा छ।
बैंकले यो सर्वेक्षणमा सहभागिता स्वैच्छिक हुने प्रष्ट पारेको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिन अस्वीकार गर्न पाउने सुविधा समेत दिएको छ। सर्वेक्षणमा संकलन गरिएका व्यक्तिगत विवरण र जानकारीहरू तथ्यांक ऐन, २०७९ अनुसार गोप्य राखिने बैंकले प्रतिबद्धता जनाएको छ।
संकलित तथ्यांकलाई केवल सामूहिक रुपमा अध्ययन प्रयोजनका लागि मात्र प्रयोग गरिने सूचनामा उल्लेख छ। सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन राष्ट्र बैंकले सम्पूर्ण वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय र आम सर्वसाधारणलाई आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गरेको छ।
यससम्बन्धी थप जानकारीका लागि राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा सम्पर्क राख्न सकिने बैंकले जनाएको छ।