काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा कमिसनका कारण आईपीओ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गरे।
बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गरेपछि जलविद्युत परियोजनाको आईपीओ जारी गर्ने कार्य रोकिएको विषयमा छानबिन गर्नुपर्ने उनको धारणा छ।
सांसद रोशन कार्कीले आईपीओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गरिन्।
यस्तै, सांसद महेशकुमार बर्तौलाले मकवानपुरको राक्सिराङमा भएको बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा ६ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग आग्रह गरे।
बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गरे।
सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली संघको कार्यकाल नसकिई अर्को समिति बनेको समाचार आएकाले यसको वास्तविकता खोजी माग गरे।
यस्तै, बैठकमा सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता अनि खुला सीमाका कारणले नेपाल जोखिममा रहेको बताए।
दुई देशबीचको युद्धले नेपाललाई पार्न सक्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकारले बेलैमा सोच्नुपर्ने उनको भनाइ छ।
सांसद गौतमले भने, ‘यो विषयमा सरकारले समयमै छलफल अघि बढाओस्। छिमेकी समकक्षीसँग हाम्रा प्रधानमन्त्रीको कुरा भएको भन्ने आएको छ। यस विषयमा गम्भीर हुन आवश्यक छ।’