काठमाडौं। छिमेकी भारत र पाकिस्तानबीच युद्ध भड्किने हो कि भन्ने आशंका भइरहेका बेला साँधसीमाका देश पनि चिन्तित छन्।
नेपालको तीनतिरबाट साँध जोडिएको भारत र दक्षिण एसियाली सदस्य पाकिस्तानबीच बुधबारदेखि सुरु भएको गोली, मिसाइल र ड्रोन हानाहानका कारण यतिबेला सर्वसाधारणले ज्यान गुमाएका छन्। अझ भारत–पाकिस्तान सीमा क्षेत्रका वासिन्दालाई ठाउँ छाडेर बंकर पस्न निर्देशन दिइएको छ।
दुई देशबीच तनावप्रति नेपालको प्रतिनिधिसभामा चिन्ता व्यक्त गरिएको छ। सांसदहरुले क्षेत्रीय अशान्तिको प्रभाव नेपालमा पनि पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आयातमा पर्ने प्रभावदेखि दुवै देशका नेपालीको सुरक्षामा सरकारले उचित ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
सांसद शिशिर खनालले एक नेपाली नागरिकसहित २६ जनाको ज्यान लिने गरी पहलगाम कास्रिमरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गरे।
उनले आतंकवादले कसैको पनि हित नगर्ने भन्दै पहलगाम आक्रमणपछि भारत–पाकिस्तानबीच तनावको स्थिति देखिएकोमा चिन्ता व्यक्त गरे।
‘आफ्नो छिमेकी मात्र होइन, सार्क अध्यक्षको हैसियतले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपर्छ’, खनालले परराष्ट्र मन्त्रालयले ढिलै भए पनि वक्तव्य निकालेर सार्वजनिक गरेको आतंकवादविरुद्धको अडानको स्वागत गरे।
भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गए नेपाललाई पर्नसक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावको आकलन गरी योजना निर्माण गरिनुपर्ने उनको भनाइ छ।
पाकिस्तानमा अध्यनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेको भन्दै उद्धार सुरक्षाको पहल गर्न माग समेत खनालले गरे।
सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तान तनावले दक्षिण एसियामा अशान्तिको संकेत देखिएको भन्दै नेपाल कुनै पनि आतंकवाद र गतिविधिविरुद्धमा रहेको बताए।
सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तान तनावको असर छिमेकी नेपालमा पनि तत्काल नेपालमा पर्न सक्ने हुँदा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिइन्।
‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौती, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सिमाना, सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग संवाद गर्नुपर्छ’,उनले भनिन्। नेपालले संवेदनशील अवस्थामा सुरक्षा रणनीति तय गर्नुपर्ने उनको भनाइ छ।
सभामुखको रुलिङ
प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ। आजको बैठकमा सांसदहरूले यो विषयमा कुरो उठाएपछि सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा, सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भने।