काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ। प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे।
यस अवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ-नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला मानिसलाई त्यसबाट मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुन सक्ने धारणा राखे।
गोकर्णेश्वर नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा आगामी दिनमा योग र ध्यानलाई उच्च महत्व दिइने नगर प्रमुख रिसालले बताए।
योग गुरुहरूको सहभागिता रहेको सो कार्यक्रममा पतञ्जली योग समिति नेपालका शंकर योगी र अर्जना घिमिरेले योग साधना र ध्यानबारे प्रशिक्षणसहित जानकारी गराएको थियो।
उक्त नगरपालिकाका नौ वटा वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ। नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन्।
योगाभ्यासले मानिसलाई शारीरिक स्वास्थ्य मात्र नभई अनुशासित बनाउँछ। पछिल्लो समय बढ्दो सहरीकरण र मिसावटयुक्त खानेकुराले अनेक रोग देखा परिरहेको अवस्थामा त्यसका निदानका लागि योग अभ्यासको महत्व दिनानुदिन बढिरहेको छ।
यसअघि भक्तपुरलाई ‘योग जिल्ला’ र ललितपुरको गोदावरीलाई ‘योग नगर’ घोषणा गरिएको थियो। नेपालले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ।
अन्तर्राष्ट्रिय रुपमा जुन २१ का दिन योग दिवस मनाइने गरिन्छ। नेपाल भूमिमा ऋषिमुनिले समेत योगाभ्यास र साधना गरेकाले योगभूमि भएको विश्वास गरिँदै आएको छ।