काठमाडौं। वैशाख २८ मा सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वैशाख २८ मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा रहेर सांसदले आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्।
बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशनको चटारोमा रहेको संघीय सदनले प्रि–बजेट छलफलका चार दिन समय निर्धारण गरेको संसद् सचिवालयले सूचना सार्वजनिक गरेको छ।
चार दिनमा १८ घन्टासम्म चल्ने छलफलमा सत्तारुढ दलसहित मुख्य प्रतिपक्ष दलका लागि समय तोकिएको छ। आजदेखि देखि जेठ २ सम्म प्रि–बजेट छलफल चलाइनेछ। आज आज चार घन्टा, बुधबार ५ घन्टा, जेठ १ मा ४ घन्टा र जेठ २ मा ५ घन्टा प्रि–बजेट छलफल हुने कार्यसूची सार्वजनिक भएको छ।
संसद् सचिवालयका अनुसार कांग्रेस र एमालेले प्रि–बजेट छलफलमा बोल्न ५/५ घन्टा पाएका छन्।
यस्तै, मुख्य प्रतिपक्षी माओवादी केन्द्रले २ घन्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन्।
यस्तै, एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएको संसद् सचिवालयको सूचनामा उल्लेख छ।
सचिवालयका अनुसार नेपाल मजदुर किसान पार्टीले ५ मिनेट, राष्ट्रिय जनमोर्चाले ५ मिनेट, आम जनता पार्टीले ५ मिनेट र दुई जना स्वतन्त्र सांसदले ५÷५ मिनेट पाएका छन्।
हाल सरकार सात दलको समर्थनमा छ। सचिवालयले प्रि–बजेट छलफलका लागि १०८३ मिनेट छुट्याइएकामा ३२३ मिनेट प्रतिपक्षी दलले पाएका छन्।