काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन्।
सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवाद उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले यही यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको उल्लेख गरे।

‘आशा गर्छौं, यो संवाद-त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘जलवायु परिवर्तनको कारक मानिएका हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ तर वातावरण संरक्षणमा नेपालको योगदान महत्त्वपूर्ण छ। तथापि हामीले असर भने धेरै भोगिरहेका छौँ। हाम्रा घरबास पहिराले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछ, समस्या गर्छ। यसविरुद्ध हामी डटिरहेका छौं।’
हिमालले असाधारण तनाव सामना गरिरहेका छन्ः परराष्ट्रमन्त्री राणा

कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालले असाधारण तनावको सामना गरिरहेको बताइन्।
सगरमाथा संवाद उद्घाटन सत्रमा परराष्ट्रमन्त्री राणाले जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको उल्लेख गरिन्।
‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले भनिन्, ‘बाढी, हिमताल विस्फोट, खडेरी, पानी अभाव र वन डढेलोले देशभरका जनतालाई अथाह पीडा पुर्याएको छ।’
उनले भनिन्, ‘हाम्रा हिमनदी जो स्वस्थ ग्रहका मौन प्रतीक हुन्, तीव्र गतिमा पग्लिरहेका छन्। सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन्।’
नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएकोसमेत बताइन्।