काठमाडौं। जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन्।
काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बाेल्दै परराष्ट्रमन्त्री राणाले जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको समेत उनले बताइन्।
‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ,हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’,उनले भनिन्, ‘बाढी,हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्याएको छ।’
उनले भनिन्,‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्,तीव्र गतिमा पग्लिरहेका छन्। सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन्।’
बनेपालले पेरिस सम्झौताअनुसार,कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताइन्।