काठमाडाैं। नेपाललाई चीनको गुआंगझोमा सम्पन्न गुआंगझो अन्तर्राष्ट्रिय पर्यटन मेला जीआईटीएफ-२०२५ मा “वर्ष २०२५ को सबैभन्दा लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य” को उपाधि प्रदान गरिएको छ। सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छोडेको हो।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा, वरिष्ठ निर्देशक सन्तोष पन्त र वरिष्ठ अधिकृत रविन रेग्मी सहितको टोलीले मे १५ देखि १७ सम्म आयोजित मेलामा सहभागी भई नेपालको विविध गन्तव्य, सांस्कृतिक धरोहर, साहसिक पर्यटन, र दिगो विकास अवधारणा प्रस्तुत गरे।
वरिष्ठ निर्देशक पन्तले भने,"चीन हाम्रो लागि महत्वपूर्ण स्रोत बजार हो। जीआईटीएफ–२०२५ मा नेपालको सहभागिताले संस्कृति, साहसिकता र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रण चिनियाँ दर्शकमाझ प्रभावकारी रूपमा पुर्याउन सकेको छ।"
मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभवहरूलाई विशेषरूपमा प्रदर्शन गर्यो। सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठकहरू र जानकारीमूलक सत्रहरू पनि आयोजना गरिएका छन्।
वरिष्ठ अधिकृत रेग्मीले नेपाललाई एकपटक अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य बनाउने प्रयासमा जीआटीएफ जस्तो प्लेटफर्म अत्यन्त उपयोगी भएकाे बताए।
पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्यमा गरिएको यो पहलले नेपालको दीर्घकालीन पर्यटन प्रवर्द्धन अभियानलाई थप गति दिने विश्वास गरिएको छ।