हुम्ला। जिल्लाको उत्तरी नाम्खा गाउँपालिका ६ तिल गाउँमा राहत सामग्री पुर्याइएको छ। जेठ १ गते राति गएको बाढी पहिरो पीडितका लागि सात दिनपछि आज राहत सामग्री पुर्याइएको हो।
पहिरोको जोखिममा रहेका १९ घ रपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो। राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुगेका हुन्।
बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास भएकाले आवश्यक सामग्री आज बिहान पुर्याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।
उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पुर्याइएको प्रजिअ पाण्डेयले बताए।
यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा आज राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ। कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लगिएको छ।