काठमाडौं । नेपाल पुर्नबीमा कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्न पाउने भएको छ । कम्पनीका कर्मचारीले नाफाबाट बोनस पाइरहे पनि संस्थापक सेयरधनीले पाएका थिएनन । प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेपछि कम्पनीले लाभांश वितरण गर्न पाउने भएको हो ।
यस्तै पुर्नबीमा कम्पनी निर्देशिकामा सञ्चालनमा आएको ५ वर्षपछि मात्र सेयरधनीलाई लाभांश वितरण गर्ने व्यवस्था भएकाले आगामी आर्थिक वर्षदेखि कम्पनीले लाभांश बाँड्न सक्ने छ । कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
कम्पनी सञ्चालनमा आएयता ३ अर्ब ६४ करोड रुपैयाँ नाफा सञ्चित कोषमा जम्मा भएको छ । चालु आर्थिक वर्ष पुर्नबीमाले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । यो समेत गर्दा आगामी आर्थिक वर्षमा कुल नाफा बढेर ५ अर्ब ५२ करोड रुपैयाँ पुग्ने छ ।
आईपीओ निष्कासन सुरु भएकाले आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने नेपाल पुर्नबीमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले बताए ।
उनले आईपीओ निष्कासनपछि कम्पनीलाई लाभांश वितरणको बाटो खुल्ने र आगामी वर्षदेखि कम्पनीले लाभांश दिने स्पष्टपारे । बीमा समिति, नेपाल धितोपत्र बोर्डको स्वीकृति र कम्पनीको प्रवन्धपत्र निमावलीअनुसार सेयरधनीलाई लाभांश वितरण गरिने उनले स्पष्टपारे ।
कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब १९ करोड, आगामी वर्ष १ अर्ब ३० करोड र २०७९ असारमा १ अर्ब ५० करोड रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । कम्पनीमा सरकारको बहुमत स्वामित्व रहेको छ ।
नेपालमा पुर्नबीमा व्यवसाय गर्न स्थापना भएको कम्पनीमा सरकारको ४४, बिमा कम्पनीहरुको ३९.९३ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आईपीओ निष्कासपछि नेपाल पुर्नबीमाको पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ । हाल ८ अर्ब ४० करोड रुपैयाँ पुँजी छ ।
कम्पनीले चैत ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १६ प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्म तोएिको बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड छ । न्युनतम १० देखि १० हजार कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । कम्पनीले नेपाल इक्रा लिमिटेडबाट आईपीओ ग्रेड २ प्रमाणपत्र पाएको छ ।
पुर्नबीमाले निष्कासन गर्ने आईपीओको ६० करोड नागरिक लगानी कोष र मेगा क्यापिटल मार्केट्स लिमिटेडले २० करोड रुपैयाँ प्रत्याभूति (अण्डरराइटिङ) गर्ने छन ।