काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि वृद्ध भत्ता पाउने उमेर बढाएर ७० वर्ष कायम गरेको छ। बिहीबार सार्वजनिक बजेटमार्फत वृद्ध भत्ता पाउने उमेर बढाएको हो।
यसअघि ६८ वर्ष पूरा भएका वृद्धहरूले मासिक चार हजार रुपैयाँ भत्ता पाउँदै आएका छन्। यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा भत्ता पाइरहेकालाई कुनै असर नहुने भएको छ।
सरकारले सामाजिक सुरक्षामा दायित्व बढेसँगै कम गर्न वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो। सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो।
अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिकसाथै देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्ध भत्ता पाउँदै आएका छन्। उनीहरूलाई मासिक दुई हजार ६६० रुपैयाँ दिने गरिन्छ।
विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन्।
पतिको मृत्यु भएका महिलाले पनि सोही दरमा मासिक भत्ता पाउँदै आएका छन्। यसबाहेक अपांगता भएका, लोपोन्मुख आदिवासी, जनजाती र तोकिएका क्षेत्रका बालिबालिकालाई समेत मासिक भत्ता दिने गरिन्छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार २०८०/८१ मा सरकारको कुल अनिवार्य दायित्व खर्च ११ खर्ब ५२ अर्ब ४० करोड ५९ लाख रुपैयाँ पुगेको थियो। जसमा सामाजिक सुरक्षा र सहायता रकममात्र २ खर्ब २६ अर्ब ६८ करोड ३५ लाख थियो। वृद्ध भत्ताबाहेक सबै भत्ता यथावत हुने भएको छ।