काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। उनीसँगै विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, सुभी अग्रवाल र र केही कम्पनीविरुद्ध पनि विशेष अदालतमा पूरक अभियोग दर्ता भएको छ।
विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। उनीसँगै सुभीलाई १३ करोड ३३ लाख ५६ हजार १३६ रुपैयाँ बिगो दाबी हुँदा हिमालयन एसेट म्यानेजमेन्टलाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ।
यसबाहेक, सुलभको नाममा रहेको बालुवाटारको घर-जग्गा, रिद्धिसिद्धि सिमेन्टको १ करोड ७० लाख कित्ता सेयर, र दीपकको नाममा रहेका विभिन्न ८ वटा कम्पनीका १५६ रोपनी जग्गा जफत गर्न माग गरिएको छ।
हिमालयन रि-इन्स्योरेन्स, श्रीराम टोबाको उद्योग र विभिन्न सहकारीको आवरणमा अर्बौं रुपैयाँ अवैध रुपमा ओसारपसार र रूपान्तरण गरेको अभियोग उनीहरूमाथि लगाइएको छ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि पद र प्रभावको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरणमा सहयोग पुर्याएको (मतियारको भूमिका खेलेको) गम्भीर आरोप लागेको छ।