काठमाडौं। होटल संघ (हान)ले संघीय संसद्मा पेस भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को राष्ट्रिय बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने घोषणाको स्वागत गरेको छ। संघ अध्यक्ष विनायक शाहले दशकौंदेखिको यो माग पूरा भएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै यो घोषणा होटल उद्योले पुर्याएको योगदानको कदर भएको बताएका छन्।
बजेटको सकारात्मक पक्षको चर्चा गर्दै अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न पर्यटक आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नति भइरहेका राष्ट्रिय राजमार्गको समयबद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्त्वपूर्ण रहेको जनाइएको छ।
पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकको बसाइँ लम्बाउन र उनीहरुको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यको विकास र पर्यटकले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेललगायतका पर्यटकीय गतिविधि बढाउन लिइएको पहल सकारात्मक रहेको हानको ठहर छ।
विश्वको प्रमुख प्राकृतिक गन्तव्य नेपालमा अधिकतम पर्यटक आकर्षिक गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेसन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम बजेटको घोषणा समयसापेक्ष रहेको बताउँदै होटल संघ नेपालले यसतर्फ निजी क्षेत्रको प्रमुख सहकार्यमा अगाडि बढाउने नीति उल्लेखनीय रहेको बताएको छ।
सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकामा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदामा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षणका स्थलमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको भनाइ छ।
हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाबाट पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै हानले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने घोषणाको स्वागत गरेको छ।
बजेटले आर्थिक कूटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीको समेत सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि सञ्चालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ । २ प्रतिशत विलासिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर नहटेकोमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्य प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीय र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ।
नेपाली होटल उद्योगमा दक्ष जनशक्ति अभाव बढ्दै गएको अवस्थामा बजेटले दक्ष जनशक्ति उत्पादन तथा स्वदेशमा नै रहने व्यवस्थाका लागि अवलम्बन गरिएका बजेटका प्रावधान संघले अध्ययन गर्ने भएको छ।
‘बजेटबाट विद्यमान पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र प्रभावकारी बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रुपमा ब्राण्डिङ गर्ने लक्ष्य प्राप्तिमा निजी क्षेत्रको अग्रणी भूमिका र योगदान खोजिएको सराहना गर्दै थप पर्यटनको विकासमा आवश्यक लगानी र खासगरी भारत र चीन केन्द्रित अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिका प्रदान गरिएबाट निजी क्षेत्र प्रोत्साहित हुनेछ’, संघकाे विज्ञप्तिमा भनिएकाे छ।