काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले भारतीय पर्यटकहरुलाई करिब ७ लाख रुपैयाँ नेपाल ल्याउन पाउने व्यवस्था गरिदियो। यसअघि २५ हजार भारतीय रुपैयाँ मात्र नेपालमा ल्याउन पाउने व्यवस्थालाई हटाएर ४ लाख २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन पाउने व्यवस्था बजेटमै आएको छ।
उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णु पौडेलले भारतीयहरुलाई नेपालमा आउँदा खर्च गर्ने सीमा र बसाइँ अवधी बढ्ने आशासहित रकम बढाएको बताए। यद्यपी, नेपालमा आउँदा भारतीय रुपैयाँ ५०० ल्याउन पाउने व्यवस्था भने गरिएको छैन।
जसका कारण सरकारले गरेको निर्णयबाट व्यवसायीहरु एक हदसम्म खुसी भएपनि ५०० को नोट ल्याउन पाउने व्यवस्था नगरिदिँदा भने केही निरास भएका छन्।
१ बोरा ल्याउनुपर्छ पैसा
सरकारले खुला गरे अनुसारको भारतीय पैसा लिएर आउँदा १ बोरानै ल्याउनुपर्ने बाध्यता भारतीय पर्यटकहरुलाई पर्ने देखिन्छ। नेपालमा हाल ५०० को भारतीय रुपैयाँ सटही हुँदैन। अमेरिकी डलर पनि पर्याप्त नहुने भएकोले भारतीय रुपैयाँ १०० को ल्याउदा १ बोरा नै ल्याउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरुको भनाइ छ।
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले भारतीयहरुलाई नेपाल ल्याउने पैसाको सीमा बढाएपनि ५०० रुपैयाँ चल्ने व्यवस्था नगरेसम्म प्रतिफल राम्रो नहुने बताउँछन्।
‘जसरी सरकारले भारतीय रकम ल्याउन पाउने सीमा खोलिदिएर राम्रो गरेको छ, त्यही अनुसारले कुटनीतिक पहल गरी तत्कालै ५०० को नोट पनि चल्ने व्यवस्था गर्नुपर्छ,’ सञ्चालक अग्रवालले भने, ‘नेपाललाई जति धेरै खर्च गर्याे उतिनै राम्रो हुन्छ।’
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले भारतीयहरुलाई नेपाल ल्याउने पैसाको सीमा बढाएपनि ५०० रुपैयाँ चल्ने व्यवस्था नगरेसम्म प्रतिफल राम्रो नहुने बताउँछन्।
कुनैपनि सरकारले आफ्नो नागरिकले अर्को मुलुकमा गएर धेरै खर्च नगरोस् भन्ने नै चाहना राख्ने भएकोले त्यसका लागि नेपाल सरकारले नै तत्कालै कुटनीतिक पहल गरी नेपालमा भारतीय ५०० रुपैयाँ चल्ने व्यवस्था गरी उनीहरुले नेपालमा गर्ने खर्चको सीमा र बसाइँ अवधी बढाउन आवश्यक रहेको उनको भनाइ छ।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले पनि सरकारले भारतीयहरुलाई पैसा ल्याउने सीमा बढाएर राम्रो गरेपनि १०० को नोट मात्र ल्याउदा धेरै हुने र झन्झटिलो हुने भएकोले कुटनीतिक पहल गरी समस्याको समधान गर्नुपर्ने बताउँछन्।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भारतीय सरकारले नै गरेको निर्णयमा आफूहरुले केही गर्न नसक्ने बताउँछन्। ‘हामीभन्दा माथिल्लो तहले कुटनीतिक पहल गरेर खुला गराउनुपर्छ,’ महानिर्देशक भट्टराईले भने।
लामो समयदेखि हानले सरकारसँग विदेशी पर्यटकहरुले नेपाल आउँदा ल्याउने पैसाको सीमा हटाउन दबाब दिँदै आएको थियो।
नेपालमा सबैभन्दा बढी आउने पर्यटकहरु भनेकै भारतको हो। खुला सिमाना रहेको कारणले सडक मार्गबाट लाखौं पर्यटकहरु नेपाल आउने गरेका छन्। खासगरी भारतीयहरु नेपालमा क्यासिनो खेल्नका लागि सिमा क्षेत्रका होटल तथा रिसोर्टहरुमा आउने गरेका छन्।
यस्तै, विवाहका लागि पनि नेपालमा आउने गरेका छन्। तर, उनीहरुले नेपाल ल्याउन पाउने पैसाको सीमा तोकेको कारण खुलेर खर्च गर्न नसकिरहेको व्यवसायीहरुको गुनासो छ।