काठमाडाैं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले ‘टेक एन्ड पे’ मा मात्र पीपीए गर्ने व्यवस्था बजेटमा गरेको भन्दै आपत्ति जनाएको छ। इप्पानले एक विज्ञप्ति जारी गर्दै ‘टेक एन्ड पे’ मा मात्र पीपीए गर्ने व्यवस्था बजेटमा गरेको भन्दै तुरुन्त सच्याउन आग्रह गरेकाे हाे।
यस्तै,इप्पानले पहिलेदेखि नै विद्युत् प्राधिकरणले गर्दै आएको टेक अर पे (लिऊ वा तिर) मै पीपीए गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
‘नेपाल सरकारले बजेटमा ल्याएको टेक एण्ड पे मा मात्र पीपीए गर्ने व्यवस्थाले सरकारले हालै मन्त्री परिषद्बाट पारित गरेको २८,५०० मेगावाट उत्पादन पुर्याउने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र, २०८१ को विरुद्ध मात्र छैन, राष्ट्रिय योजना आयोगको १६ औ पञ्चवर्षीय योजनाको लक्ष्य हासिल गर्नका लागि समेत ठूलो बाधक रहेको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ।
सरकारले विभिन्न सार्वजनिक फोरमहरुमा ऊर्जामा निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहन गर्ने,विदेशी लगानीकर्ताहरुलाई भित्र्याउने तथा छिमेकी मुलुक भारतलाई १० हजार मेगावाट निर्यात गर्ने लगायतका सबै उद्देश्य र लक्ष्य हासिलका लागि बजेटको यस व्यवस्थाले बाटो बन्द गरिदिएको इप्पानकाे आराेप छ।
यो विद्युत ऐन २०४९, जलविद्युत नीति २०५८,जलस्रोत नीति र ऐनविरुद्ध पनि रहेको भन्दै इप्पानले सरकारको ऊर्जा विकासमार्फत मुलुकको समृद्धि हासिल गर्ने योजनामा समेत बजेटको यो घोषणाले पूर्ण बेवास्ता गरेको आरोप लगाएको छ।
हालसम्म १५ खर्बभन्दा बढी लगानी गरिसकेको र अब ३० खर्बभन्दा बढी लगानी गर्नका लागि तम्सिएको निजी क्षेत्रलाई यस्तो घोषणाले पूर्ण निराशावादी बनाएको इप्पानको दाबी छ।