काठमाडौं। आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड बगाएको छ।
बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टंक थापाले जानकारी दिए। यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले बताए।
सडक अवरोध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ। चुरे पहाडको फेदीमा रहेको सडक खण्डमा हरेक वर्षको बाढीपहिरोले अवरोध हुने गरेको छ।
पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थाको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले जानकारी दिए। आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालीखोला हुँदै शान्तिगाँउ वडा कार्यालयबाट काँकडभिट्टा बसपार्कमा आउने वैकल्पिक रुट प्रयोगमा ल्याइएको छ। सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।
इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ।
थप वर्षा हुने भएकाले मेची, बिरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।