काठमाडौं। नेपालको पर्यटन, संस्कृति र हिमाली सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्पेनको बार्सिलोनामा ‘एभरेष्ट उत्सव २०२५’ मनाइएको छ। नेपाली दूतावास, म्याड्रिड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे ३० मा सम्पन्न यस उत्सवले नेपाली तथा स्पेनी समुदायबीच सांस्कृतिक सेतु निर्माण मात्रै होइन, पर्वतारोहणको गौरवमय इतिहासप्रति सम्मान पनि प्रकट गरिएको छ।
कार्यक्रममा विश्वप्रसिद्ध स्पेनी भूगर्भविद् तथा हिमाल आरोही प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेजले ‘हिमाल चढ्नु मात्र जित नभएर हिमालको बुझाइ नै सफलता भएको बताएका हुन्। सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर स्पेनी आरोहण इतिहासमा नाम लेखाएका लोपेजले नेपालसँगको पाँच दशक लामो
सम्बन्धबारे पनि चर्चा गरेका छन्।
उनले भने, ‘नेपाल केवल गन्तव्य होइन, त्यो त मेरो अध्ययनको प्रयोगशाला र आत्माको शरणस्थल हो।’ दुई हप्ता अघि मात्र नेपाल भ्रमण सकेर स्पेन फर्किएका लोपेजले हिमालयमा बढ्दो जलवायु संकट, पर्यावरणीय प्रभाव र व्यवसायीकरणका जोखिमबारे चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा क्याटालोनियाका आरोही तथा इभरेस्ट-९३ नामक डकुमेन्ट्रीका निर्देशक जउमे अल्टाडिल क्लाउले पनि सगरमाथा क्षेत्रको संरक्षण र
प्रबर्द्धनको महत्वबारे चर्चा गरेका छन्।
कार्यक्रममा मेरी पुइग रेबुस्तेस र मेल बेल्भिस ई डेल रियोले पनि कार्यक्रममा सहजीकरण गरेका थिए। क्याटालोना सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका प्रमुख मार्क भकारोले स्पेनी आरोहीको मनमा नेपालले विशिष्ट स्थान ओगटेको बताएका हुन्।
उनले भने, 'नेपालको पर्वतारोहण इतिहास र स्पेनी समाजबीचको गहिरो सम्बन्धको छ। नेपाल स्पेनी आरोहीहरूको हृदयमा विशेष स्थान ओगटेर बसेको छ।’ नेपालका लागि स्पेनका राजदूत शनिल नेपालले कार्यक्रमको उद्घाटन गर्दै नेपालले संसारलाई हिमाल मात्रै नभएर अध्यात्म, साहस र आत्मीयता प्रदान
गरेको बताए।
उनले थपे, 'नेपालको विविध सांस्कृतिक धरोहर र भावनात्मक गहिराइबारे बुझ्न एकपटक नेपाल पुग्नुपर्दछ।'
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको पर्यटकीय सम्पदाबारे प्रस्तुतीकरण दिएका थिए। उनले नेपालको पदयात्रा मार्ग, सांस्कृतिक अनुभव, ग्रामिण पर्यटन, तथा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन र भीड व्यवस्थापनबारे भइरहेका प्रयासहरुबारे तथ्यांकसहित प्रस्तुत दिएका
हुन्।
कार्यक्रमको एनआरएनए स्पेनद्वारा सांस्कृतिक नृत्य र हस्तकला प्रदर्शनी गरिएको थियो। विविध जातजातिबाट प्रतिनिधित्व गर्ने कलाकारहरूले परम्परागत भेषभूषासहितको नृत्य प्रस्तुत गरेका थिए। यसका साथै कार्यक्रममा धातुका मूर्तिहरू, लोककला, र काठका शिल्पहरूसहितको नेपाली हस्तकला प्रस्तुत गरिएको थियाे।