काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए।
'आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाउनुस्, काम तेकिएकै समयमा सक्ने गरी लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन,' मन्त्री खड्काले भने।
ऊर्जा मन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तीव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए। 'यो देशको हामी सबै नागरिक हौँ ठेकेदार, कर्मचारी, मन्त्री जो भए पनि देशको विकास भए सबैको विकास हुन्छ, काम चाँडो सक्ने हुटहुटीका साथ काम गर्नुस्,' उनले भने।
आयोजना अगाडि बढाउन स्पष्ट खाका बनाएर लक्ष्य अनुसार काम गर्न मन्त्री खड्काले निर्माण कम्पनीलाई निर्देशन दिए। 'काम गर्ने हामीले हो, अरूले होइन, लक्ष्य प्राप्तिका लागि काम गर्नु भएन भने सरकारले बैकल्पिक बाटो सोच्छ, यो सरकारको बाध्यता हो,' उनले भने।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिँचाइ हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकाले सबै मिलेर काम गर्नुपर्ने बताए। 'लक्ष्यलाई भेट्ने गरी काम गर्नुस, म्याद थप हुने कुरा नगरौँ,' ऊर्जा मन्त्री खड्काले भने।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले लक्ष्य भेट्ने गरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताए। महानिर्देशक बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने बताए। १४ अर्बको आयोजनामा हालसम्म एक अर्ब २० करोड मोविलाइजेशन खर्च परिचालन गरिसकेको उनको भनाइ थियो।
स्मेक कन्सल्यान्टका प्रतिनिधि दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरूले ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको बताए।
आयोजनाका ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधिले रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भन्दै सरकारले सहयोग गरे आफूहरूले समयमै आयोजना सम्पन्न गर्ने बताए।
सोही अवसरमा ऊर्जा मन्त्री खड्काले उक्त आयोजनाको टनेल, पा वरहाउस र हेडबक्सको अवलोकन तथा निरीक्षण गरेका थिए। मन्त्री खड्कासँगै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो।