काठमाडौं। यातायात क्षेत्रमा विभिन्न संगठनका नाममा खोलिएका संगठनबाहेक प्रतिस्पर्धीलाई ल्याउन नहुने माग राखेर सिन्डिकेट समर्थक यातायात व्यवसायीले आजदेखि उपत्यकासहित देशैभर यातायात बन्द गरेका छन्।
यातायात व्यवसायीको बन्दका कारण काठमाडौं उपत्यकामा सवारी साधन नचल्दा सर्वसाधारणले सास्ती बेहोरेका हुन्। काठमाडौं उपत्यकामा एकाध स्थानबाहेक सार्वजनिक यातायात साधन चलेका छैनन्। काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्।
कलेज पढ्ने विद्यार्थी, बिहानै काममा जाने मानिस बस बिसौनीमा सार्वजनिक यातायात कुरेर बसेका देखिन्छन्। यातायात बन्द भएपछि केही मानिस हिँडेरै गन्तव्य जाँदै गरिरहेका छन्।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधनसरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजी मागमा समर्थन गर्दै सिन्डिकेट समर्थक यातायात व्यवसायीले आजदेखि यातायात बन्दको घोषणा गरेका हुन्।
यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सात वटै प्रदेशमा नचलाइएको जानकारी दिए।
कोटेश्वर–जडीबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक गर्न खोज्दा प्रहरी परिचालन भएका छन्। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द समथर्क व्यवसायीबीच हात हालाहाल भएको छ। स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा छन्।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी बताउँछन्।
यातायात व्यवस्था ऐन २०४९ अनुसार, निजी सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने व्यवस्था थियो । तर, २०८१ असार १३ मा सर्वोच्च अदालतले सबै सवारी साधनलाई कानुनीरूपमा सेवा सञ्चालन गर्न सक्ने बाटो खोल्दै पुराना प्रावधान खारेज गरेपछि सरकारले नियमावली ल्याएको हो । नियमावली ल्याएसँगै सिन्डिकेट समर्थक यातायात व्यवसायीको समूहमा विरोधमा छ।
सरकारले सिन्डिकेट यातायात व्यवसायीको जालो तोड्न सवारी सञ्चालन अनुमति दिए पनि यातायात बन्दको मौका पारेर राइड सेयरिङ कम्पनीले बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। राइडरले अफ लाइन बार्गेनिङ गर्दै भाडा बढाएका हुन्।
राइड सेयरिङका विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गरेका छन्। तर, सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राख्न थालेका हुन्।
पठाओ, इन्ड्राइभलाई ट्याक्सी र सार्वजनिक सवारीको विकल्पको रूपमा प्रयोग गर्न थालिएको छ। कम्पनीले यस अगाडि पनि ‘पिक आवर’मा एक जना यात्रुसँग १० देखि ४० प्रतिशतसम्म थप शुल्क असुल्ने गरेको थियो। थोरै संख्यामा चालक रहेको स्थानमा धेरै यात्रु सम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ। कार्यालय समय र रातका बेला सेवाग्राहीसँग थप शुल्क लिने गरेको कम्पनीले यस अगाडि नै स्वीकार गर्दै आएको थियो।
बन्दका कारण यात्रुे चाप बढेपछि पठाओ, इन्ड्राभलगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गर्न थालेका छन्। यस अगाडि १०० रुपैयाँ भाडा तोकिएको स्थानमा एपमा १८०÷१९० रुपैयाँ देखाउने गरेको छ भने राइडरले कम्तीमा २५० देखि ३५० रुपैयाँसम्म बार्गेनिङ गरिरहेका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार साँझ संयुक्त विज्ञप्ति निकाली सोमबारदेखि सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेको जनाएका छन्।