काठमाडौं। सरकारले आजदेखि सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग वार्ता सुरु गरेको छ। वार्ता गृह मन्त्रालयमा चलिरहेको मन्त्री रमेश लेखको सचिवालयले जानकारी दिएको हो।
सरकारले वार्तामा बोलाएपछि यातायात व्यवसायी गृहमन्त्री लेखकसहित मन्त्रालयका सचिवसँग छलफल गर्न सिंहदरबार पुगेका छन्।
यातायात व्यवसायीको बन्दका कारण देशसहित काठमाडौं उपत्यकामा सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी देशव्यापी सवारी बन्दको आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनमा नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध अरू ७ संघ–संगठनले सहयोग गरेका छन्।
राइड सेयरिङ सेवालाई प्रहरी चेतावनी

नेपाल प्रहरीले राइड सेयरिङ सेवामा सर्वसाधारणलाई ठगी बढेको भन्दै भाडा नबढाउन चेतावनी दिएको छ। सार्वजनिक यातायात बन्द हुँदा राइड सेयरिङ सेवाले भाडा बढाएको गुनासो आएपछि प्रहरीले यस्तो चेतावनी दिएको हो।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर यात्रुलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ। भाडा बढाएको गुनासोपछि पठाओले भने नबढाएको दाबी जनाएको छ।