काठमाडौं। सिन्डिकेटधारी यातायात व्यवसायीको बन्दले प्रभावित काठमाडौं उपत्यकाभित्रका सर्वसाधारणलाई राइड सेयरिङ कम्पनीले सेवा दिँदै आएका छन्।
सरकारले राइड सेयरिङ सेवालाई प्रोत्साहन गर्दा सिन्डिकेटमा चलेका यातायात कम्पनी समस्यामा परेको दाबी गर्दै विरोधमा व्यवसायीले अनिश्चितकालका लागि यातायात अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि राइड सेयरिङले सर्वसाधारणलाई सेवा दिइरहेका हुन्।
यातायात व्यवसायीले ग्यारेजमा गाडी धन्काएर आन्दोलनमा उत्रिएपछि अलपत्र परेका सर्वसाधारणहरुलाई यति बेला विभिन्न राइड सेयरिङ कम्पनीले सेवा दिँदै आएको हो।
अहिले सबैभन्दा बढी पठाओ र इनड्राइभले यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ। पठाओका मार्केटिङ हेड सुरक्षा हमालले विहानै देखि राइडरहरुले सेवा दिँदै आएको जानकारी दिए। ‘समस्यामा परेका सर्वसाधारणलाई सेवा दिनु हाम्रो प्रमुख कर्तव्य हो,’ मार्केटिङ हेड हमालले भनिन्, ‘हामीले कुनैपनि मूल्य बढाएका छैनौ, सेवामा अनवरत लागिरहेका छौं।’
पठाओले बरु यात्रुलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न कम्पनीका राइडरलाई क्वेस्ट र इन्सेन्टिभ दिएर धेरै राइड गर्न प्रोत्साहन गरिरहेको जानकारी दिएको हो।
‘हामी प्रस्ट पार्न चाहन्छौं– हामीले नियमित शुल्क मात्रै लिएका छौं। तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन।’
पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुलाई अनुरोध गरेको छ। अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुव्र्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ। अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन कम्पनीको आग्रह छ।
हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन। १ लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन।
नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भए १० लाख रुपैयाँसम्म र उपचार लागि १ लाख रुपैयाँसम्मको बिमा दिने गरेको छ।
इनड्राइभले पनि विहानैदेखि सर्वसाधारणहरुलाई सेवा दिँदै आएको जनाएको छ। इनड्राइभका नेपाल प्रतिनिधिका अनुसार अहिले सयौंको संख्यामा रहेका राइडरहरुले सेवा दिँदै आएको बताउदै अफलाइनमा यात्रा नगर्न अनुरोध गरेको छ। ‘भाडा बढाउने र घटाउने अप्सन इनड्राइभमा रहेकोले धेरै अनुरोधहरु आउदा केहि मूल्य बढेको हुन सक्छ,’ ती प्रतिनिधिले भने, ‘कम्पनीले नै अनावश्यक रुपमा भाडा बढाएको छैन, कुनै राइडले बढी लिएमा कम्पनीमा वा प्रहरीमा खवर गर्न अनुरोध गर्दछौं।’
सजिलो सेवाका सञ्चालक अमिर लामाले पनि समस्यामा परेका यात्रुहरुलाई राइडरहरुले सेवा दिँदै आएको जानकारी दिए। ‘हाम्रा राइडहरु विहानैदेखि यात्रुहरुलाई सुविधा दिन लागिरहनु भएको छ,’ सञ्चालक लामाले भने, ‘हामी अफलाइनलाई निरुत्साहित गर्न चाहन्छौं, यात्रुहरुले पनि यसमा साथ दिनुपर्छ।’
पठाओ, इनड्राइभ र सजिलो सेवा लगाएत अन्य राइड सेयरिङ कम्पनीहरुले विहानैदेखि सुविदा दिँदै आएको छ।
अफलाइनलाई निरुत्साहित गरौं
यात्रु स्वयमले पनि अफलाइनलाई निरुत्साहित गर्नुपर्ने धारणा राइड सेयरिङ कम्पनीहरुको भनाइ छ। राइडरहरुले तत्कालै नाफा खोज्ने र यात्रुहरुले पनि थोरै शुल्क कम हुने आशमा अफलाइनमा हिड्न खोज्दा समस्या उत्पन्न हुने भएकोले यस्ता काममा नलाग्न राइडर र यात्रुहरुलाई अनुरोध गरेका छन्।