काठमाडौ। संघीय संसद्का दुवै सदनको बैठक बस्दै कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रतिनिधिसभा बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो।
प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ।
राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ।
संसद् बैठक सुचारु गराउन सोमबार तीन शीर्षस्थ नेताबीच छलफल भए पनि गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने आशय व्यक्त गरिसकेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबारको बैठकले पनि गृहमन्त्रीले राजीनामा दिएपछि मात्रै संसद् चल्न दिइने अन्यथा अवरोध गरिने बताएकाले बैठक नियमित हुनेमा भने आशंका छ।