काठमाडौं। ९९७ सीसीसम्मका शक्तिशाली इन्जिन, मल्टिपल राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल र टीएफटी डिस्प्ले जस्ता आधुनिक फिचरसहित इटालियन ब्रान्ड मोर्बिडेली नेपाली बजारमा भित्रिएको छ। एड्भेन्चर राइडिङप्रति युवाको बढ्दो आकर्षणलाई लक्षित गर्दै ल्याइएका यी प्रिमियम मोटरसाइकलहरूले पावर, प्रविधि र डिजाइनको संयोजनमार्फत बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।
युवाहरूको एड्भेन्चरप्रतिको रुचिलाई मध्यनजर गर्दै मोटरसाइकल बिक्रेताहरूले एड्भेन्चर तथा उच्च क्षमताका (पावरफुल) बाइकहरू धमाधम आयात गर्न थालेका छन्। कच्ची सडकमा समेत सहज यात्रा गर्न सकिने, शक्तिशाली इन्जिन र लोभलाग्दो लुक्सका कारण नेपाली युवाहरूको आकर्षण एड्भेन्चर सेग्मेन्टतर्फ मोडिएको छ।
यसै क्रममा इटालियन विरासत बोकेको मोर्बिडेली पनि नेपाली बजारमा भित्रिएको छ। नेपालमा प्रिमियम सेग्मेन्टका बाइकहरूको माग बढिरहेको बेला वैद्य ग्रुप अन्तर्गतको भोइथ इनर्जीले मोर्बिडेलीका विभिन्न मोडलहरू ल्याएको छ। यसको आगमनले पावरफुल सेग्मेन्टको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ।
अहिले दुई पांग्रे सवारीसाधन लिएर एड्भेन्चर राइडिङ गर्नेहरुको उत्साह बढ्दै गएकाले नेपाली बजारमा मोर्बिडेली ल्याएको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले बताए।
‘अहिले दुई पांग्रे सवारीसाधन लिएर एड्भेन्चर राइडिङ गर्ने युवाहरुको उत्साह बढ्दै गएकाले उनीहरुलाई मध्यनजर गर्दै मोर्बिडेली ल्याएका छौं,’ उनले भने, ‘मोर्बिडेलीको क्वालिटी एकदमै राम्रो छ। अरू १००० सीसीका बाइकहरु एक करोडभन्दा माथि नै पर्छन्, तर यो चाहिँ तुलनात्मक रूपमा किफायती रेन्जभित्र पर्छ।’ अन्य बाइकको तुलनामा यसको मूल्य किफायती रहेको उनको भनाइ छ।
मोर्बिडेली इटालीको विश्व चर्चित ब्रान्ड हो। यसका मोटरसाइकल विशेष डिजाइन, शक्तिशाली इन्जिन र ऐतिहासिक रेसिङ विरासतका लागि प्रख्यात मानिन्छ। यसको शक्तिशाली इन्जिन, एड्भान्स टेक्नोलोजी र आकर्षक डिजाइनका कारण मोर्बिडेली बाइकहरूलाई विशेष मानिएको छ।
यस्ता छन् मोर्बिडेली बाइकका फिचर
टी १००२ भीएक्स
वैद्य ग्रुपले ल्याएको सबैभन्दा पावरफुल र महँगो मोडल मोर्बिडेली टी १००२ भीएक्स हो। कम्पनीले यसको मूल्य ४४ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। यो प्रिमियम एड्भेन्चर मोटरसाइकल हो। यसमा ९९७ सीसी भी-ट्विन ८ भल्भ इन्जिन रहेको छ। यसको इन्जिनले ८८.५ हर्सपावर र ८९ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ। यो मोटरसाइकलको फ्रन्टमा केवाइबीको ४३ एमएम फुल्ली एडजस्टेबल यूएसडी फोर्क र रियरमा केवाइबी मल्टिलिंक मोनोशक सस्पेन्सन पाउन सकिन्छ।

मोर्बिडेली टी १००२ भीएक्सको फ्रन्ट ह्वीलमा ३२० एमएम ट्विन डिस्क र रियरमा २६० एमएम सिंगल डिस्कसहित बशको एबीएस सिस्टम उपलब्ध छ। यसको अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस स्पोक ह्वील दिइएको छ। यो एड्भेन्चर टुरर मोटरसाइकलमा २० लिटरको इन्धन ट्याङ्क छ। यसको सिट हाइट ८२० एमएम मात्र छ।
यो मोटरसाइकलमा ७ इन्च टीएफटी स्क्रिनका साथै ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ। यसमा चार राइडिङ मोड रेन, स्ट्यान्डर्ड, स्पोर्ट्स र अफरोड पाउन सकिन्छ। यसमा ट्र्याक्सन कन्ट्रोलका साथै क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छन्। यसमा हिटेड ग्रिप, हिटेड सिट, अल एलईडी सेटअप र एडजस्टेबल विन्ड स्क्रिन उपलब्ध छ।
टि ५०२एक्स
मोर्बिडेली टि ५०२ एक्स एक मध्यम आकारको एड्भेन्चर–टुरिङ मोटरसाइकल हो, जसलाई दैनिक यात्रा र अफरोड दुवैका लागि डिजाइन गरिएको छ। कम्पनीले नेपाली बजारमा यसको मूल्य १३ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। टि ५०२ एक्स ५०० सीसी सेग्मेन्टमा ‘भ्यालु–ओरिएन्टेड’ विकल्पको रूपमा आफूलाई स्थापित गर्न खोजेको मोडलका रूपमा देखिएको छ।

मोर्बिडेली टि ५०२ एक्समा ४८६ सीसीको प्यारलल–ट्विन इन्जिन छ, जसले ८,५०० आरपीएममा ४७ हर्सपावर र ६,७५० आरपीएममा ४५ एनएम टर्क उत्पादन गर्छ। ६–स्पीड गियरबक्ससँग जोडिएको यो इन्जिन स्मूथ परफर्मेन्सका लागि उपयुक्त मानिन्छ, जसले नयाँ र अनुभवी दुवै राइडरलाई सहज अनुभव दिने कम्पनीको दाबी छ।
इटालियन डिजाइनमा आधारित यस बाइकमा ६–स्पीड गियरबक्स, १८ इन्च अगाडिको र १७ इन्च पछाडिको स्पोक ह्वील दिइएको छ, जसले अफरोड र अनरोड दुवै अवस्थामा राम्रो ग्रिप प्रदान गर्छ।
यसमा ४३ एमएम अपसाइड–डाउन फ्रन्ट फोर्क (१८० मिमी ट्राभल) र प्रोग्रेसिभ लिंकेजसहितको रियर मोनोशक (१६५ मिमी ट्राभल) राखिएको छ। ब्रेकिङ प्रणालीमा डुअल फ्रन्ट डिस्क समावेश छ, जसलाई अफरोडका लागि स्विच अफ गर्न मिल्ने सुविधा पनि दिइएको छ।
यसमा ७ इन्चको टीएफटी डिस्प्ले, नेभिगेसन मिररिङ, टी-बक्स कनेक्टिभिटी र इलेक्ट्रोनिक थ्रोटल कन्ट्रोलसहित स्ट्यान्डर्ड, रेन, स्पोर्ट, अफरोड राइडिङ मोड उपलब्ध छन्।
एड्भेन्चर सेटअप अन्तर्गत उच्च ग्राउण्ड क्लियरेन्स, इन्जिन गार्ड, ह्यान्डगार्ड र एडजस्टेबल विन्डस्क्रिन जस्ता फिचरले यसलाई लामो दूरीको यात्राका लागि उपयुक्त बनाएको छ। यसको र्याली–स्टाइल अप–राइट राइडिङ पोजिसन र फराकिलो ह्यान्डलबारले आरामदायी अनुभव दिन्छ।
मोर्बिडेली एफ ३५२
मोर्बिडेली एफ ३५२ मोडल ९ लाख ९६ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ। मोर्बिडेली एफ ३५२ विशेषगरी सहरी यात्रा र ‘वीकएन्ड राइड’ लाई लक्षित गरी डिजाइन गरिएको छ।

यसमा ३४९ सीसीको लिक्विड–कुल्ड पेरालल–ट्विन इन्जिन प्रयोग गरिएको छ। यस इन्जिनले ११,००० आरपीएममा ४०.९ हर्सपावर र ८,५०० आरपीएममा ३१.५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यसमा रहेको ६–स्पीड गियरबक्ससँग स्लिपर क्लच जडान गरिएको छ, जसले गियर सिफ्टिङलाई निकै सहज र सुरक्षित बनाउँछ।
यो मोटरसाइकल टेक–फ्रेन्डली फिचरले सुसज्जित छ। यसमा ५ इन्चको कलर टीएफटी डिस्प्ले र मोर्बिडेली कनेक्ट प्रणाली उपलब्ध छ। यसका साथै यसमा ट्र्याक्सन कन्ट्रोल र तीनवटा राइडिङ मोडहरू रहेका छन्। बाइकको अगाडि भागमा रहेको आक्रामक एलईडी हेडलाइटले यसलाई थप स्पोर्टी र आधुनिक लुक दिएको छ।
मोर्बिडेली सि ५५२ भि
मोर्बिडेली सि ५५२ भि पनि एक हो। कम्पनीले यो मोडलको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सि ५५२ भि मोडल पछिल्लो समय प्रिमियम फिचर र मस्कुलर लुक्सका कारण चर्चामा रहेको छ। यो विशेषगरी क्रुजर बाइक मन पराउनेहरूका लागि डिजाइन गरिएको हो। यो बाइक मध्यम स्तरका राइडरका लागि उपयुक्त मानिएको छ।

यसको २४९ सीसी इन्जिनले ९००० आरपीएममा २५.४८ हर्सपावर र ५५०० आरपीएममा २५ एनएम टर्क प्रदान गर्छ, जसले स्मूथ पावर डेलिभरीसँगै गहिरो र आकर्षक आवाज दिन्छ।
मोर्बिडेली सि ५५२ भिमा नयाँ पुस्ताको क्रुजर चेसिस प्रयोग गरिएको छ, जसमा डबल क्रेडल स्टिल फ्रेम र रिइन्फोर्स्ड टी-बार स्टाइल ह्यान्डलबार समावेश छ। टप योकमा इन्टिग्रेट गरिएको डुअल क्ल्याम्पले थप मजबुती र नियन्त्रण प्रदान गर्छ।
यो बाइकको मुख्य आकर्षण यसमा रहेको गोलो आकारको फुल–कलर एलसीडी डिस्प्ले हो। यसले आवश्यक सबै सूचनाहरू स्पष्ट रूपमा देखाउँछ। सुरक्षाका लागि यसमा ट्र्याक्सन कन्ट्रोल, डुअल–च्यानल एबीएस जडान गरिएको छ, जसले चिप्लो सडकमा पनि सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ।
यसमा परम्परागत चेनको सट्टा बेल्ट ड्राइभ प्रणाली प्रयोग गरिएको छ, जसले गर्दा भाइब्रेसन कम हुन्छ र चेनको तुलनामा कम मर्मत गरे पुग्छ। साथै, स्लिपर क्लचको सुविधाले गर्दा अचानक गियर डाउन गर्दा पछाडिको चक्का लक हुने डर हुँदैन र गियर परिवर्तन निकै सहज हुन्छ।
मोर्बिडेली टी ३५२ एक्स
सार्वजनिक गरेको मोडलमध्ये टी ३५२ एक्स पनि एक हो। कम्पनीले यसको मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। मोर्बिडेली टी ३५२ एक्समा ३४९.२ सीसीको ट्विन–सिलिन्डर, ८ भल्भ, लिक्विड–कुल्ड, ईएफआई इन्जिन छ। यो इन्जिनले अधिकतम ४१ हर्सपावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच दिइएको छ।
-1775232826.jpg)
निकै उत्कृष्ट ह्यान्डलिङ रहेको यो मोडलमा स्विचेबल डुअल–च्यानल एबीएस, अफरोड मोडसहित तीन राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल, पूरा एलईडी लाइट सेटअप, ७ इन्चको टीएफटी डिस्प्ले, कनेक्ट सिस्टम, नेभिगेसन, एसओएस बटन, पिरेली स्कॉर्पियन अफरोड टायर, स्पोक ह्वील, लङ ट्राभल सस्पेन्सन सेटअप लगायतका फिचरहरू र १८ लिटरको इन्धन ट्याङ्क पाउन सकिन्छ।