काठमाडौं। सञ्चालनमा आएको करिब चार दशकपछि ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालय अपग्रेड भएर पाँचतारे बनेको छ। सन् १९८७ देखि सञ्चालनमा आएको होटल ३८ वर्षपछि पाँचतारे भएको हो।
होटलका प्रबन्ध निर्देशक दिनेश तुलाधारले समयको मागअनुसार चारबाट पाँचतारेमा अपग्रेड गरिएको जानकारी दिए। ‘होटलबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै पाँचतारे होटलमा अपग्रेड भएका हौं,’ प्रबन्ध निर्देशक तुलाधारले भने, ‘ट्राभल एजेन्सीहरुले लामो समयदेखि पाँचतारे खाेजिरहेका थिए, अहिले त्यो पूरा भयो।’
करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १२६ वटा कोठा सञ्चालनमा रहेको छ। ‘हेल्थ क्लबसहित विभिन्न संरचना थप गरेका छौं,’ प्रबन्ध निर्देशक तुलाधारले भने, ‘कति खर्च भयो भन्ने यकिन भएको छैन, तर ठूलै मात्रामा खर्च गरेका छौं।’
ग्राहकहरुलाई थप सेवा र सुविधा दिने उद्देश्यका साथ होटललाई चारबाट पाँचतारे बनाएको उनको भनाइ छ। होटलमा जुनियर सुईट, एजुकेटिभ डवल/ट्वीन रुम र डिलक्स डवल/ट्वीन रुम रहेको छ।
२०८२ सालको नयाँ वर्षदेखि पाँचतारेमा विस्तार भएको हो। योसँगै होटल हिमालय ललितपुर जिल्लाकै पहिलो पाँचतारे होटलसमेत बनेको छ। यसअघि चारतारे होटल मात्र ललितपुरमा सञ्चालनमा रहँदै आएको थियो।

स्थापना कालदेखि सबैको रोजाइमा पर्दै आएको होटल हिमालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर टाढा र काठमाडौं सहरको केन्द्रबाट केबल २ किलोमिटर मात्र टाढा रहेको छ।
होटलमा साना तथा ठूला गरी ९ वटा हल सञ्चालनमा छन्। यस्तै, तीन वटा गार्डेन रहेको छ। गार्डेनमा पनि आवश्यकताको आधारमा पार्टीहरु सञ्चालन गर्दै आएको जनाएको छ।
तीन वटा गार्डेनमा मात्र एकसाथ १ हजार ५०० भन्दा बढीलाई सेवा दिइरहेको छ। होटलमा तीन वटा रेष्टुरेन्ट समेत सञ्चालनमा छन्।
काठमाडौंका धेरै प्रतिष्ठित गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू वरपर रहेकाले संयूक्त राष्ट्र संघको मुख्यालय केही मिनेट पैदल दूरीमा पुग्न सकिन्छ।
होटलको बगैँचाबाट हिमालय शृङ्खलाहरु १८० डिग्री मनोरम दृश्यको आनन्द लिन सकिन्छ। होटलमा अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट, क्याफे सञ्चालनमा छ। होटलमा टेनिस कोर्ट, स्विमिङ पुल र हेल्थक्लब पनि सञ्चालनमा रहेको छ।
आईएनजीओ र एनजीओको हब
होटल हिमालयमा सबैभन्दा बढी स्थानीय एवम् अन्तर्राष्ट्रिय गैरसकारी संस्थाहरुले कार्यक्रम गर्दै आएको छ।
काठमाडौंबाट नजिकै र ललितपुरको प्रिमियम लोकेसनमा ठूलो क्षेत्रमा सञ्चालनमा रहेको, हल धेरै रहेको र पर्याप्त मात्रामा पार्किङ रहेकै कारण तालिम, गोष्टी र सेमिनारहरुका लागि होटल हिमालय राेजाइमा पर्दै आएको हो।

