म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ।
अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’ अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिएका हुन्।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले आधारशिविरमा नेपाली संगीतको झल्को दिने सांगीतिक प्रस्तुति दिएका हुन्।
हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यवाधनका साधनको संगीतमा फ्रान्सेली कलाकारले राखेको सांगीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समिति सदस्य तेज गुरुङले बताए।
‘अन्नपूर्ण आधारशिविरमा पहिलो पटक यसप्रकारको सांगीतिक कार्यक्रम आयोजना गरिएको हो। फ्रान्सेली कलाकारको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा सांगीतिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ’, अन्नपूर्ण पदमार्गका अभियन्तासमेत रहेका गुरुङले भने।
कलाकारले नेपालीपन झल्कने संगीत प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्यसमेत प्रस्तुत गरेका थिए। अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतमा नेपाली र विदेशी पर्यटकले रुचिका साथ अवलोकन गरेका थिए।
हीरक जयन्ती अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधारशिविर पुगेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संगीतको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सव अवसरमा आधारशिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ।
साथै, आधारशिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दूरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ।–रासस