काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकको संस्था (इप्पान)ले सरकारले बजेटमा ल्याएको टेक एण्ड पे पीपीएको प्रावधान संशोधन नगरे निजी क्षेत्रका जलविद्युत आयोजनाका सबै पावरहाउस बन्द गर्ने चेतावनी दिएको छ।
बजेटमा आएको सो प्रावधानको विरोधमा आयोजित उर्जा उत्पादकहरुको भेलामा इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो चेतावनी दिएका हुन्। अहिले ८० प्रतिशत बिजुली निजी क्षेत्रले उत्पादन गरेको भन्दै यदि निजी क्षेत्रले बिजुली नदिने हो भने नेपाल विद्युत प्राधिकरण बन्द हुने उनले दाबी गरे। उनले आफुहरु सडकमा तयार बाल्न नसक्ने तर अन्तिम विकल्पको रुपमा पावर हाउस नै बन्द गराउन बाध्य हुने बताए।
बजेटमा आएको व्यवस्थाले १ हजार ११७ मेगावाटका आयोजना प्रभावित भएको र तिनमा ६६ अर्ब लगानी भइसकेको उनले जानकारी दिए। सरकारले ‘अब देशलाई बिजुली पुग्यो, लगानी चाहिँदैन, तिमी डुब्यौँ, अब जता जाने हो जाउ’ भन्ने सन्देश दिएकाले मर्नैपर्ने, झुन्डिनै पर्ने अवस्था आएको उनले उल्लेख गरे उनले भने ‘ मर्नै पर्ने, झुन्डिनै पर्ने हो भने अन्तिम विकल्पका रुपमा हामी पावर हाउस बन्द गराउन बाध्य हुन्छौँ।’
२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिने, तर खरिद चाहि नगर्ने भन्ने कुरा निकै गम्भीर विषय रहेको उनले बताए। सरकारले बजेटमा आगामी वर्ष ४८ सय मेगावाट बिजुली पुर्याउने भनेको तर अहिलेकै प्रावधान रहे त्यो नबन्ने उनको दाबी छ।
आरओआरको मात्रै होइन, सोलार र स्टोरेजको पनि पीपीए नहुने अवस्था बनेको उनले बताए। अध्यक्ष कार्कीले सरकार र विद्युत प्राधिकरणलाई विद्युत ब्यापार गर्न नसक्ने हो भने हात उठाएर घोषणा गर्न चुनौती दिए। अनुमति दिएमा निजी क्षेत्र आफैले विद्युत व्यापार गर्ने उनको भनाइ थियो। आजसम्म अन्याय सहेर बसेको तर अब बाध्य भएर आयोजनाको पावर हाउस नै बन्द गर्ने चेतावनी उनले दिए।