दाङ। तुलसीपुर उपमहानगर–१२ को लामीडाँडामा कुनै बेला बर्खामा हिलाम्य र अन्य समयमा धुलाम्य सडकका कारण आउजाउ गर्न निकै कठिन थियो। तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ।
‘पहिले हिलैहिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो’, स्थानीय नन्दकुमार पुनले भने, ‘अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ।’
कालोपत्रे नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो। सुकाएका कपडामा पनि धुलैधुलो हुने अवस्था थियो। अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताइन्।
‘सुकाएका कपडामा पनि धुलैधुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो’, उनले भनिन्। सोही ठाउँको आठ सय मिटर सडक कालोपत्रे भएको हो।
त्यसैगरी तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो। त्यतिमात्र होइन, वर्षामा घर नै डुबानमा पर्ने अवस्था हुन्थ्यो। तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको स्थानीय डिला केसीले बताइन्। ‘वर्षामा घर पनि डुब्ने अवस्था हुन्थ्यो। कम्मरसम्म हिलो हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले नालीसहित सडक कालोपत्र भएपछि सहज भएको छ।’ त्यहाँ साढे तीन सय मिटर सडक कालोपत्रे भएको हो।
यी दुवै सडकका लागि ८६ लाख बजेट विनियोजन भएको थियो। चालू आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए।
उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गर्दै यो ठाउँमा कालोपत्रे गरिएको उनको भनाइ छ। ‘सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्र गर्ने काम गरिरहेका छौं’, उनले भने, ‘यसले निकै सहज बनाएको छ।’
यस वर्ष मात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए। आवश्यकतानुसार नयाँ ट्रयाक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उनको भनाइ छ।–रासस