काठमाडौं। प्याराग्लाइडिङ चालकले पनि उडानपूर्व अनिवार्य मादक पदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) चेकजाँच गराउनुपर्ने भएको छ।
प्याराग्लाइडिङ स्वीकृति दिने र नियमन गर्ने मुख्य निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालनसम्बन्धी कार्यविधि बनाएर पाइलटको मापसे र लोपसे चेकजाँच अनिवार्य गराउन लागेको हो।
हाल पाइलटको स्वास्थ्य परीक्षण पाँच वर्षमा एकपटक अनिवार्य गराए पनि उडानअघि अनिवार्य रुपमा मापसे र लापसे चेक गराउने गरिएको थिएन। जहाज उडानअघि पनि पाइलटको अनिवार्य मापसे र लापसे चेक हुँदै आएको छ।
‘आकाशमा उड्ने एकै प्रकृतिका भएकाले सबै पाइलटलाई एउटै नियम बनाउन लागिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘आगामी आर्थिक वर्षदेखि लागू गर्ने गरी कार्यविधि बनाइरहेका छौं। महानिर्देशकबाट हस्ताक्षर हुनेबित्तिकै लागू हुन्छ।’
२०७९ असोजमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एक जना प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएपछि उडानमा कडाइ गरेको थियो।
यसअघि पनि पटक-पटक प्याराग्लाइडिङ दुर्घटना भएपछि सुरक्षा मापदण्ड फितलो बनाएको भन्दै प्राधिकरणको विरोध भइरहेको थियो। प्याराग्लाइडिङ उडानलाई व्यवस्थित बनाउनकै लागि कार्यविधि बनाइरहेको प्राधिकरण स्रोतको भनाइ छ।
एक/एक वर्षमा मेडिकल जाँच
प्राधिकरणले बनाइरहेको कार्यविधिमा पाइलटको मेडिकल चेकजाँच अब प्रत्येक वर्ष गर्नुपर्नेछ। यसअघि ४० वर्ष उमेर समूहका पाइलटलाई पाँच वर्षमा एक पटक मात्र मेडिकल चेकजाँच गरे हुन्थ्यो। स्वस्थ रुपमा तन्दुरुस्त रहे/ नरहेको भन्ने जानकारी दिलाउने उद्देश्यका साथ मेडिकल चेकजाँचको समय घटाएर १ वर्षमा ल्याउन लागिएको प्राधिकरणले बताएकाे छ।
यसबाट पाइलट स्वयंलाई राम्रो र उड्नेलाई पनि ढुक्क हुने प्राधिकरणको दाबी छ। हाल नेपालमा ३ सय बढी प्याराग्लाइडिङ पाइलटले लाइसेन्स लिएका छन्। तर, तीमध्ये २ सय बढीले मात्र उडानको काम गरिरहेका छन्। केही विदेशी आफैंले प्याराग्लाइडिङ उडाउने गरेका छन्। तिनकाे पनि मापसे र लापसे चेकजाँच हुनेछ।
ग्लाइडरको चेकजाँच ६/६ महिनामा
प्याराग्लाइडिङको ग्लाइडर अब प्रत्येक ६/६ महिनामा अनिवार्य परीक्षण गर्नुपर्नेछ। ग्लाइडर भनेको प्याराग्लाइडिङको सबैभन्दा माथिको उडाउने भाग हो।
उडान गरिरहँदा ग्लाइडर सुरक्षित छन् वा छैन भन्ने बुझ्न ६ महिनामा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने र त्यसको रिपोर्ट प्राधिकरणलाई दिनुपर्ने हुन्छ। त्यसको आधारमा लाइसेन्स नवीकरण हुनेछ। यसअघि ग्लाइडरको चेकजाँच अनिवार्य थिएन।
प्याराग्लाइडिङ कम्पनीले आफ्नै सुरक्षाका लागि चेकजाँच गरे पनि त्यसको रिपोर्ट प्राधिकरणलाई दिने गरेका थिएनन्। प्याराग्लाइडिङ दुर्घटनामा पर्नुको प्रमुख कारणमध्ये ग्लाइडर पनि भएकाले त्यसको चेकजाँचलाई कडाइ गर्न थालिएको प्राधिकरणले बताएकाे छ।
प्राधिकरणले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी ग्लाइडर चेकजाँच र पाइलटको स्वास्थ्य परीक्षण भए/नभएको विषयमा जानकारी लिन र कार्यविधिअनुसार नगरेको पाइए कारबाही लागि अनुरोध गर्ने तयारी रहेको जनाएको छ।
मुलुकभर सोलो उडान खुला गर्दै प्राधिकरण
प्राधिकरणले नयाँ आर्थिक वर्षपछि मुलुकभर सोलो उडान खुलाउने तयारी गरिरहेको छ। कार्यविधि बनाएर नियमन बलियो बनाउने र उडान अनुमति पाएका ठाउँमा सोलो उडान खुलाउने प्राधिकरणको तयारी छ। अहिले सोलो उडान बन्द छ।