काठमाडौं। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को कार्यक्रम बन्द भएपछि सबैभन्दा ठूलो मार खेपिरहेका तारे होटलमा भारत‑पाकिस्तानको लडाइले अर्को तनाव थपिएको छ। युएसएआइडीको अधिकाशं कार्यक्रम तारे होटल तथा रिसोर्टमा हुने गरेको थियो।
अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएलगत्तै २०८१ माघमा उनले पहिलो चरणमा त्यहाँबाट दिँदै आएको अनुदान रोक्ने निर्णय गरेका थिए। अमेरिकाले नेपालसहित विभिन्न मुलुकमा युएसएडमार्फत ठूलो सहयोग गर्दै आएको थियो।
‘युएसएडको कार्यक्रम रोकिँदा कम्तिमा होटलमा २० देखि २५ प्रतिशत घाटा भएको थियो,’ एक होटल व्यवसायीले भने, ‘हाम्रो ठूलो ग्राहक गुम्यो।
थपियो भारत‑पाकिस्तानको तनाव
अहिले भारत र पाकिस्तानबीचको युद्ध रोकिएको छ। भारतको पर्यटकीयस्थल जम्बुकास्मीरमा एक जना नेपालीसहित मृत्यु हुने गरी भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबीच युद्ध सुरु भएको थियो।
नेपालको छिमेकी मुलुक भारत र पाकिस्तानबीच भएको युद्धले केही दिन नेपाल आउने जहाजहरु समेत डाइभर्ट भएका थिए। दुई मुलुकबीचको तनावले भारत र पाकिस्तानसहित अन्य मुलुकबाट आउने धेरै पर्यटकहरुले होटलको बुकिङ रद्द गराएका थिए।
‘भारत र पाकिस्तानको द्वन्द्वले नेपालको यो पर्यटकीय सिजनमा ठूलो असर गर्यो,’ एक होटल व्यवसायीले भने, ‘यसबाट हामीलाई यो वर्ष गर्ने नाफा प्रक्षेपणमा समेत ठूलो नोक्सान भएको छ।’
नेपालमा प्रत्यक्ष रुपमा युद्धको कुनै प्रभाव नपरे पनि छिमेकी मुलुकमा भएको तनावको असर अप्रत्यक्ष रुपमा होटलहरुले बेहोरेको ती व्यवसायीको भनाइ छ।
‘भारत र पाकिस्तानको युद्धलाई देखाएर होटलमा भएको धेरै बुकिङहरु रद्द भए,’ ती व्यवसायीले भने, ‘युएसएडले छोडेपछि घाटा भएको होटलमा अर्को तनाव थपियो।’
युएसएड र छिमेकी मुलुकबीच भएको द्वन्द्वको कारण अधिकाशं होटलको नाफामा ठूलो गिरावट आउन सक्ने आंकलन व्यवसायीहरुले निकालेका छन्। विशेष गरेर पाँचतारे होटलले आफ्नो वार्षिक क्यालेण्डर अनुसार यो वर्ष जति नाफाको प्रक्षेपण गरेका थिए।
त्यसमा करिब ५० प्रतिशत गिरावट आउने देखिएको व्यवसायीकाे निष्कर्ष छ। यसरी नाफामा ५० प्रतिशतसम्म गिरावट आउँदा कर्मचारीलाई दिने बोनसमा ठूलो समस्या देखिन्छ।