मुस्ताङ। मार्फा–जोमसोम सडक धमाधम कालोपत्र भइरहेको छ। लामो समय रोकिएको कालोपत्र कार्य गत सातादेखि सुरु गरिएको हो।
उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको सडकअन्तर्गत ७४ किलोमिटर लामो बेनी–जोमसोम सडक कालोपत्र गर्न आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो।
७० करोडको लागतमा कोवाङ-मार्फा १७ किमि सडक कालोपत्र गर्न सम्झौता भएको थियो। कोवाङ–जोमसोम सडकको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदै गर्दा निर्माणमा संलग्न कम्पनीले काम अधुरै छाडेको थियो।
बेनी–जोमसोम चौथो खण्डको कोवाङ–जोमसोम सडक निर्माणका लागि सुरुआती ठेक्का पप्पु–गौरी पार्वती, कोसी एन्ड न्यौपाने जेभीसँग सम्झौता भएको थियो।
तर, सो कम्पनीले सडक निर्माणको काम प्रभावकारी रुपमा अघि बढाउन नसकेपछि काम अधुरै थियो। तर, निर्माण कम्पनी चालू आर्थिक वर्ष सकिन लाग्दा कोवाङ—जोमसोम सडक निर्माणको काममा फर्किएको हो। आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कोवाङ–जोमसोम सडकको हालसम्म भौतिक प्रगति ९० प्रतिशत रहेको बताए।
हालसम्म कोवाङदेखि टुकुचे र टुकुचे सिरान टोलदेखि मार्फासम्म कालोपत्र सम्पन्न भएको उनको भनाइ छ। जोमसोम कालिपुलदेखि पुथाङ विमानस्थलसम्म आरसीसी तथा कालोपत्रे भएको छ।
कोवाङ–जोमसोम सडक खण्डको बाँकी (मार्फा–जोमसोम) चार किमि सडक पनि कालोपत्र गर्न थालिएको छ। राष्ट्रिय गौरवको (मार्फा–जोमसोम) सडक अधुरै रहँदा जनताबाट आलोचना खेप्नुपरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए। मार्फा–जोमसोम सडक कालोपत्रे भए मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म सडक सन्जालले जोडिनेछ।–रासस