तनहुँ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम सकिएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जानकारी दिएको हो।
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमि खण्डमा एकतर्फी कालोपत्रे सकिएको बताए। पश्चिम खण्डतर्फ तीन किमि एकतर्फी बाँकी कालोपत्रे गर्न बाँकी रहेको र जेठ अन्तिमसम्म कालोपत्रे सक्ने लक्ष्य रहेको उनले जानकारी दिए।
पश्चिम खण्डतर्फ १२ मध्ये १० पुल सम्पन्न भएका छन् भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनको भनाइ छ। यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनले बताए। तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले जानकारी दिए।
पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनले बताए। २०७८ जेठ ३ मा सम्झौता भएको यो खण्डको काम गर्ने २०८२ पुस १६ सम्म रहेको छ। यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोडमा पाएको थियो।
पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ। यो खण्डको काम ८५ प्रतिशत सकिएको छ। आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्रे करिब सकिएको इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। यो खण्डअन्तर्गत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्रे गर्न बाँकी छ। दमौली बजारमा पनि कालोपत्रे अन्तिम चरणमा पुगेको छ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी जेठ २९ सम्म रहेकाले त्यस अवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए। पूर्वी खण्डमा २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु भएको थियो।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। २०२६ मा रेखांकन भएको सडकमा सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।–रासस