काठमाडौं। भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ।
अहमदावादमा बिहीबार भएको एयर इन्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन, विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ। अन्तरराष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ।
जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो। जहाजमा सवार चालक दलका सदस्यसहित २४१ इात्रुको निधन भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएका छन्। एयर इन्डिया आफैंले सोसल मिडिया एक्समार्फत २४१ यात्रुको मृत्यु पुष्टि गरेको छ।
दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशंका गरिएको छ। बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले भयानक क्षति बेहोर्नुपर्यो।
दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि वज्रपात पर्छ। त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति व्यहोर्छन्। छिमेकी भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभियसनलाई पनि सोचमग्न बनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तरराष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताए। ‘जहाज दुर्घटना केकति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ। यसले हवाईयात्रीलाई सोचमग्न बनाएको छ।’
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का पूर्वक्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटनाभएको हुनसक्ने पूर्वानुमान गरे। उनले भने, ‘नयाँ जहाज र अनुभवी पाइलटले उडाएकाले अहिले सरसरती हेर्दा मानवीयभन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ। जहाजको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्नेछ।’
उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ। नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्वक्याप्टेन पौडेलले उल्लेख गरे।
प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले ड्रिमलाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए। ‘ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो। अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ। यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो। यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ।’
विश्व एभियसन बजारमा ड्रिमलाइनरको संख्या करिब एक हजार १०० रहेको जनाइन्छ। प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो।
‘नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै ‘एभियसन इन्डस्ट्री’लाई ‘ब्ल्याक डे’ हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालकदलका सदस्यसहित दुई सय ४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको ‘सिनारियो’जस्तै भयो। उडेको केही क्षणभित्रै जहाज दुर्घटनाग्रस्त भएको देखिन्छ’, उनले भने।
विज्ञहरूको भनाइमा सामान्यतयः जहाज ‘टेकअप’ र ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ। जहाजलाई उड्न चाहिने म्याक्सिमम टेकअप वेट फुल प्यासेन्जर र फुलफ्युल हालेर जब जहाज जमिन छोड्छ, उसको लिफ्ट पावर बढी चाहिन्छ। अलिकति पनि ब्यालेन्स तलमाथि हुँदा एभियसनको भाषामा जहाज स्टल हुन्छ। दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्नेबित्तिकै नियन्त्रण गुमाएको देखिन्छ।
‘जहाजले क्लाइम गर्ने बेला इन्जिन फेल भएको हो कि अथवा जहाजका भित्री मेकानिकल कमजोरीले भएको हो वा अरु कारणले हो त्यो चाहिँ पछि अनुसन्धानले देखाउँला, तर यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ’, सूचना अधिकारी भूलले भने।
उनले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताए। उनका अनुसार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुनेछ। जहाजको इन्जिन फेल, कन्ट्रोल कमान्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ।
जहाजको ‘इमर्जेन्सी कन्डिसन’मा भएको अवस्थामा ‘मेडे मेडे मेडे’ भनेर क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराउँछन्। प्राधिकरणका अर्का एक विज्ञको भनाइमा एयर इन्डियाको दुर्घटनाअघि पाइलटले ‘मेडे’ शब्द बोलेर एटिसीलाई सूचना दिएका थिए।
सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदै छ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ। यसले गर्दा विश्व समुदायलाई अझै हाम्रो हवाई उडानमा उडान संपरीक्षण एयर वर्दिनेसको पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गरे।
आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ। सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ। जहाजको प्राविधिक कुरालाई नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसममात्र नभई जहाजको प्राविधिक पार्टलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकामा विज्ञहरूको जोड छ।
जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ। ‘यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सट्रनल फ्याक्टर चरा ठोक्किएको हुनुपर्छ’, पूर्वमहानिर्देशक गौतमले भने, ‘जहाज टेकअप हुनेबित्तिकै हाइट लिन सकेन। ग्राउन्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरी दुर्घटना भएको देखिन्छ। जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ।’
पूर्वमहानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा असर नपरे पनि हवाईयात्रीको कन्फिडेन्स घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताए। विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटनाग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीले बताएका छन्।-रासस