काठमाडौं। समानुपातिकतर्फको मत गणना सकिन लाग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र नयाँ सरकार गठनको तयारी सुरु भइसकेको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपसभापति बालेन्द्र शाह बालेनबीच नयाँ सरकारको खाकाबारे प्रारम्भिक छलफल भएको हो।
लगभग दुई तिहाइ सिट हात पारेर ऐतिहासिक जित हासिल गरेको रास्वपाले अब बालेनको नेतृत्वमा शक्तिशाली सरकार गठनतर्फ ध्यान केन्द्रित गर्न थालेको छ। निर्वाचनको यो परिणामलाई नेपाली राजनीतिमा युगान्तकारी मोड मानिएको छ, जहाँ परम्परागत दललाई पन्छाउँदै नयाँ राजनीतिक शक्ति देशको बागडोर सम्हाल्न तयार भएको छ।
छलफलमा सभापति लामिछाने र बालेनबीच नयाँ सरकारका लागि केही नाम प्रारम्भिक रुपमा प्रस्ताव भएका छन्। ती नाममा डीपी अर्याल, सोविता गौतम, सुनील लम्साल, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल र स्वर्णिम वाग्ले रहेका छन्।
यद्यपि उनीहरुले पाउने मन्त्रालयबारे अहिलेसम्म छलफल नभएको एक नेताले बताए। यी नामहरू अझै प्रारम्भिक चरणमा छन् र अन्तिम टुंगो लाग्न बाँकी रहेको पार्टी स्रोतले जनाएको छ। पहिला मन्त्री भएका र अहिले नयाँ सांसद भएकालाई मिलाएर सरकार गठन गर्ने गरी छलफल भइरहेको छ।
लामिछाने र बालेनबीच नयाँ सरकारका लागि केही नाम प्रारम्भिक रुपमा प्रस्ताव भएका छन्। ती नाममा डीपी अर्याल, सोविता गौतम, सुनील लम्साल, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल र स्वर्णिम वाग्ले रहेका छन्।
मंगलबार दुई जनाबीचको भेट र पछिको टेलिफोन कुराकानीमा विवाद नगरी सहमतिको आधारमा मन्त्री नियुक्त गर्न छलफल भएको हा ।
दुई तिहाइको बलमा एकल सरकार सम्भव
लगभग दुई तिहाइ सीट जितेसँगै रास्वपाले अरू दलको साथ नखोजिकनै एकल बहुमतको सरकार बनाउन सक्ने स्थितिमा पुगेको छ। नेपाली राजनीतिको इतिहासमा गठबन्धन र सम्झौताको अन्तहीन चक्रमा अभ्यस्त जनताका लागि यो एउटा नयाँ अनुभव हुनेछ।
बालेन प्रधानमन्त्री बन्ने लगभग तय भएको छ। यद्यपि, उनी रास्वपाको संसदीय दलको नेता हुनुपर्नेछ। संसदीय दलको नेता चयनका लागि चैत पहिलो साताभित्र पार्टीले निर्णय लिने तयारी भएको स्रोतले बतायो।
त्यसपछि उनी प्रधानमन्त्रीको कुर्सीमा पुग्नेछन्। त्यसपछि माथि उल्लिखित नामसहित मन्त्रिपरिषद् गठन प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।