काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संकमणका कारण नेपाल–चीन नाकामा रोकिएका सामान धमाधम आउन थालेका छन् । चिनियाँ नाकामा रोकिएका सामान ६ देखि १२ घण्टा क्वारेन्टाइन राखेर ल्याउने काम सुरु भइसकेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताए । त्यहाँ ५० देखि ६० कन्टेनर सामान रोकिएका थिए ।
कोरोना संकमणको अवस्था हेरेर चीनबाट थप नयाँ सामान ल्याउनका लागि अनुमति दिने तयारी भइरहेको मन्त्री दुगडले जानकारी दिए । ‘थप सामान आयातका लागि अवस्था हेरेर अनुमति दिन सुरु गर्छौ’ उनले क्यापिटल नेपालसंग भने, ‘रोकिएका सामान ६ देखि १२ घण्टा क्वारेन्टाइनमा राखेर छाडिएको छ ।’ पहिला चीनमा संकमणको अवस्था के हुन्छ भनेर हेर्ने र त्यसपछि मात्रै अनुमति दिने नदिने टुंगो लाग्ने उनले बताए ।
यसअघि चीनमा कोरोना भाइरसको संकमणका कारण त्यहाँका उद्योग तथा कार्यालय बन्द भएका थिए । जसका कारणले परीक्षण भएका र ल्याउन ढुवानी गरिएका सामान समेत अड्किएका थिए । औषधीजन्य कच्चा पदार्थ, औषधी, मेसिन तथा उपकरण, खाद्यान्न लगायतका सामान नेपाल र चीन नाकामा रोकिएका थिए ।
ती सामानहरु बिहीबार साँझदेखि धमाधम आउन थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसअघि चिनियाँ व्यापारीले चिनियाँ बजार लयमा फर्किसकेको र हामी कारोबार गर्ने अवस्थामा रहेको म्यासेज नेपाली व्यापारीको मोबाइलमा पठाएका थिए ।
नेपालको चीनसँगको व्यापार २० देखि २५ प्रतिशत हाराहारीमा रहेको छ । खासगरी, लत्ताकपडालगायत केही व्यापारमा चीनकै वर्चस्व छ ।
कोरोना भाइरसका कारण आर्थिक रुपमा थलिएको चीनले आफूलाई विस्तारै पुरानै लयमा फर्काउन लागेको नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बताए । चीनले पनि आफ्नो देश कोरोना संकमणमुक्त र सुरक्षित रहेको घोषणा समेत गरिसकेको छ ।