काठमाडाैं। रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले सोमबार गाउँकार्यपालिकाको कार्यालय वडा नं ५ खाल्टेबगरमा आयोजित कार्यक्रमकाबीच एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरे।
उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ। आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते,सुत्केरीलगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पुर्याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो।
कम्पनीले यसअघि आयोजना प्रभावित अर्को आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरिसकेको छ। उक्त एआयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गरिरहेको छ।
कार्यक्रममा कार्यक्रममा कम्पनीका सिइओ बायोङ सु मिनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तारलाई ध्यान दिएर उपलब्ध गराइएको बताए।
आयोजनाबाट प्राप्त हुने लाभको पहिलो हकदार प्रभावितहरु हुने भएकाले सोही विषयलाई केन्द्रमा राखी प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम सञ्चालित रहेको उल्लेख गर्दै उनले एम्बुलेन्सबाट दुर्गम क्षेत्रका बिरामीहरुलाई समयमा स्वास्थ्य सेवासम्म पुर्याउन एउटा कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे।
सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्स आयातमा लाग्ने राजश्व सरकारबाट छुट प्राप्त भएको छ। राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ।