काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दबाब दिएपछि विभिन्न २१ ओटा बैङ्क तथा वित्तीय संस्थाले मर्जरमा जान प्रतिबद्धता जनाएका छन् । १७ वाणिज्य बैङ्क, ३ विकास बैङ्क र एक लघुवित्तले मर्जरमा जाने प्रतिबद्धता जनाएका हुन् । अझै ११ वाणिज्य बैङ्कले प्रतिबद्धता बुझाएका छैनन् ।
प्रतिबद्धता बुझाउने वाणिज्य बैङ्कहरुमा एनएमबी, सनराइज, सिटिजन्स, लक्ष्मी, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी), सानिमा, सिभिल, माछापुच्छ्रे, सेञ्चुरी कमर्शियल, नेपाल एसबीआई, ग्लोबल आईएमई, जनता, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, हिमालयन कुमारी र मेगा बैङ्क रहेको राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
उनका अनुसार साँग्रिला डेभलपमेन्ट, महालक्ष्मी विकास र सहयोगी विकास बैङ्कले पनि मर्जरमा जान प्रतिबद्धता जनाएका छन् । महिला सहायता लघुवित्त वित्तीय संस्था लिमिटेड पनि मर्जरमा जाने भएको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि मौद्रिक नीति आउनुअगावै प्रतिबद्धता ल्याउन निर्देशन दिएपछि बैङ्कहरु तयार भएका हुन् । ग्लोबल आईएमई र जनताबीच मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । सिटिजन्सले सहयोगीलाई एक्वायर गर्ने एमओयू भइसकेको छ । नेपाल लघुवित्त बैङ्कर्स एसोसिएसनले पनि मर्जरमा जाने प्रतिबद्धता जनाएको छ ।
प्राइम कमर्शियल, बैङ्क अफ काठमाण्डु, प्रभु, सिद्धार्थ, एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नेपाल बंगलादेश, कृषि विकास र नेपाल बैङ्कबाट प्रतिबद्धता आएको छैन । प्राइमले राष्ट्र बैङ्कमा मर्जरमा जाने प्रतिबद्धता नबुझाए पनि कन्काइ र कैलाश विकास बैङ्कका साथै ललितपुुर फाइनान्सलाई एक्वाएरका लागि एमओयू गरेको छ ।
केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कको संख्या घटाउन मर्जरमा जोड दिए पनि अधिकांशले क्षेत्रियस्तरको विकास बैङ्कलाई एक्वायर गर्न लागेका छन् । बैङ्कहरुले राष्ट्र बैङ्कमा बुझाएको प्रतिबद्धतामा विदेशी बैङ्कसँग संयुक्त लगानी सम्झौता (ज्वाइन्टभेञ्चर) दोस्रोमा क्षेत्रियस्तरका विकास बैङ्कलाई एक्वायर र अन्तिममा मात्र वाणिज्य बैङ्कबीच मर्जर गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
यस्तै विदेशी लगानीमा स्ञ्चालनमा रहेका एभरेष्ट, स्ट्याण्डर्ड चाटर्ड र सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैङ्कले मर्जरमा जाने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । ३ ओटा बैङ्क मर्जरमा जान सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
