नवलपरासी। निरन्तरको वर्षाले पूर्व– पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल खण्ड बुधबार रातीदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलाको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकामा बाढीले डाइभर्सन बगाएको बताए।
त्यस्तै, लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ। यो खण्डमा यातायात आउजाउ सहज नभएसम्म वैकल्पिक सडक प्रयोग गर्न उनको आग्रह छ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरे। त्यस्तै, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान सुझाइएको छ।
साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैंडाकोट (नवलपुर) पीपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उनको भनाइ छ।