काठमाडौं। निरन्तरको वर्षापछि आएको बाढीपहिरोले मुलुकभरका ११ वटा राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ५ एकतर्फी सञ्चालनमा आएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीको फेसुबकअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटीमा पर्ने मुख्य राजमार्ग वर्षापछिको बाढीपहिरोले अवरुद्ध बनेका हुन्।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुईतर्फी बनाउने र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए। अहिले सिन्धपाल्चोकको भोटेकोसीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ। सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ। यात्रु अलपत्र छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ। यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ। काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको प्रहरीले जनाएको छ।
गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा अवरुद्ध कालीगण्डकी करिडोर, जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खस्दा अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले सूचनामार्फत जानकारी दिएको छ।
