काठमाडौं। प्रतिनिधिसभा बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम सभामुख देवराज घिमिरेले हटाएका छन्।
सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसदले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आसनबाट उठेर विरोध जनाएपछि प्रधानमन्त्री ओलीले बोल्न नपाएका हुन्।
त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नोत्तरलगायत कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेका थिए।
सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसद आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो। त्यसपछि दुवै दलका सांसद बैठक छाडेर निस्किएका छन्। सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ।

प्रतिनिधिसभा बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ। दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए।
प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाए। उनले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो।