काठमाडौं। तीन वर्षअघि आजैका दिन जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेबिनै स्थापना दिवस मनाएको छ। रास्वपाले सहकारी ठगी प्रकरणमा हाल रुपन्देहीको भैरहवा कारागारमा रहेका सभापति लामिछानेबिनै जन्मदिवस मनाएको हो।
स्थापना अवसरमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राज्यको अनुदार चरित्रले पार्टीलाई थप एकताबद्ध बनाएको बताएका छन्। उनले अभिभावकीय स्थान रिक्त भए पनि सरकारको चरित्रले रास्वपालाई थप एकताबद्ध र दृढ बनाएको बताएका हुन्।
उनले भनेका छन्, ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ।’ रास्वपाले तेस्रो स्थापना दिवस मनाइरहँदा केही जटिल र चुनौतीपूर्ण परिस्थितको सामना गरिरहेको पनि सन्देशमा उल्लेख छ।
‘परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्र दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको छ। हामी कानुनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं,’ सन्देशमा भनिएको छ।
तीन वर्षअघि आम नागरिकको निराशा, आक्रोश र परिवर्तनको तीव्र आकांक्षालाई राजनीतिक आकार दिँदै रास्वपाको स्थापना भएको र अभियानकै रुपमा पार्टीको विस्तार र सुदृढीकरणमा सक्रिय रहेको भनिएको छ।
‘यसको निरन्तरताले जीवन्त र अनुशासित संगठनको रूपमा सुदृढ हुँदै आम नागरिकको आवाजलाई सशक्त बनाउन हामी थप सक्षम हुनेछौं । संघीय संसदमा आफ्नो उपस्थितिलाई अझै प्रभावकारी र परिणाममुखी बनाएर सरकारका गलत कामको खबरदारी गर्ने र जनमुखी कानुन निर्माणमा निर्णायक भूमिका खेल्ने हाम्रो संकल्पलाई पछिल्ला घटनाक्रमले अझै दृढ बनाएको छ,’ सन्देशमा भनिएको छ।
रास्वपा दशकौंदेखि देशमा जरा गाडेको दलतन्त्रको सिन्डिकेटले सिर्जना गरेका विकृति–विसंगतिको भण्डाफोर अभियानमा पनि रहेको कार्यवाहक सभापति अर्यालले बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन र जनमैत्री सेवकको नीतिको अक्षरशः कार्यान्वयनले मात्रै विद्यमानको निराशा र आक्रोश अन्त्य गर्नेछ भन्नेमा हामी विश्वस्त छौं। हाम्रो मूल खबरदारी पनि यसैतर्फ केन्द्रित हुनेछ। महँगी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या लगायत आमनागरिकका जनजीविकाका सवालमा हामी आउँदा दिनमा अझै प्रखर रूपमा प्रस्तुत हुनेछौं । सडकदेखि सदनसम्म जनताको आवाजलाई निरन्तर बुलन्द बनाइरहने छौं।’
भैरहवा कारागारबाट रविको भावुक सन्देश, कांग्रेसले फसाएको आरोप
पार्टी जन्मोत्सव अवसरमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेको दण्डस्वरूप थुनामा बस्नुपरेको जिकिर गरेका छन्।
पार्टी स्थापना दिवसका अवसरमा थुनाबाटै सन्देश जारी गर्दै लामिछानेले आफू सत्तालोलुप नभएको बताउँदै सत्ताको नेतृत्व गर्ने प्रस्ताव त्यागेको दण्डस्वरूप थुना बेहोर्नुपरेको बताएका हुन्।
‘एकाथरी आलोचक मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अवसर आयो, होइदिऊँ न भनेको भए कसले रोक्थ्यो र?’ सन्देशमा भनेका छन्।
उनले प्रधानमन्त्री बनिदिन कांग्रेसको मूल नेतृत्व मध्यरातसम्म आफ्नो हस्ताक्षर कुरेर बसेको तर नमानेको दाबी पनि गरेका छन्।‘भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरुप आज थुना बहेोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही?’ सन्देशमा लामिछानेले भनेका छन्। रवि हाल बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
कारागारबाट रवि बोलेको सन्देशको पूर्ण पाठ