काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि समूहगत छलफल जारी छ।
बैठकमा सांसदहरूले दलीय आधारमा बजेटका पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा आफ्ना धारणा राखेका हुन्।
बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताए। मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरिएको उनको आरोप छ।
उनले बजेटको सिद्धान्तविपरीत योजना छरिएको र टुक्रे आयोजनालाई समेटेको भन्दै तीन करोडको सिलिङविपरीत आयोजना छनोट हुनु दुखःद् भएको टिप्पणी गरे।
नेता केसीले भएका र पुराना आयोजनालाई निरन्तरता नदिइ नयाँ टुक्रे आयोजनालाई प्रथामिकता नदिएर जनप्रतिनिधिलाई वेवास्ता गरिएको आरोप लगाए।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थमन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल जारी छ।