काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तल्लो तहका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन्।
कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा महामन्त्री थापाले कांग्रेसले पक्षपोषण गर्ने भनेको तल्लो तहका नागरिकको जीवनस्तर उकास्न भएको बताएका हुन्।
‘हामीले खोजेको भनेको समुन्नत नेपाल हो। हामी पुँजीवादी अर्थव्यवस्थामा विश्वास गर्छौं। नाफालाई अपराध मान्दैनौं। तल्लो तहमा रहेका नागरिकलाई माथि उकास्न चाहन्छौं। हामीले चाहेको व्यवस्थित प्रणालीमा कसैले पासपोर्ट र लाइसेन्स पाउन राजनीतिक दलको सदस्य हुनुपर्दैन, नेपाली नागरिकले खोजेको कुरा यही हो। यसका लागि व्यवस्थित प्रणाली आवश्यक छ’, उनले भने।
महामन्त्री थापाले उदारवादी पार्टी भए पनि बेलायतमा लेबर पार्टी दबाबमा रहेको भन्दै नेपालले सिक्नुपर्ने कुरा बेलायतको व्यवस्थित प्रणाली र व्यवस्थापनको विषय रहेको औंल्याए।
‘हामीले अनुशरण गरेको प्रणाली भनेको बेलायती संसदीय प्रणाली हो। संसदीय प्रणालीमा हाम्रो ठूलो विश्वास छ, लेबर पार्टीबाट सिक्ने कुरा धेरै छन्’, उनले भने । लेबर पार्टीसँग कांग्रेसको भगिनी सम्बन्ध रहेको बताउँदै पुराना पार्टी संकटमा भएको अवस्थामा बेलायतमा लेबर पार्टी पनि संकटमा छ भन्ने देखिएको उनको भनाइ छ।
सन् १९९५ मा लेबर पार्टीले बेलायतमा निजी सम्पत्तिको विषय र उदारवादी विषयका कुरामा उत्साहित हुँदै गर्दा हामीले पनि त्यहीँ उठाएका थियौँ भन्दै उनले भने, ‘बेलायतको लेबर पार्टीले तीन वटा निर्वाचन जितेर आफ्नो धार कायम गरेको छ। हामीले पनि २०४८ मा जितेपछि उदारवादी नीति ल्याएकै हो, ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा पर्याप्त बजेट गएकै हो’, उनले भने।
बेलायतमा निर्वाचनमा जानुअघि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुन्छः कैनी
बेलायतको लेबर पार्टीका नेता डा. बच्चुकैलाश कैनीले आफू सन् २०१२ मा लेबर पार्टीसँग जोडिएको बताउँदै कांग्रेस र नेपालमा पनि लेबर पार्टीमा भएका राम्रा काम लागू होस् भन्ने चाहेको बताए।
नेता कैनीका अनुसार बेलायतमा पनि योग्य व्यक्तिलाई नै सरकारको नेतृत्व दिनुपर्छ भन्ने आधारमा चुनाव अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुने गरेको छ।
‘बेलायतमा सांसद चार पाँच पटकसम्म हुन परिपक्व नेता बनाउन प्रोत्साहित गर्ने प्रचलन रहेको छ। निर्वाचनमा जानु अगाडि नै प्रधानमन्त्रीको उम्मेदवार चयन हुन्छ। पार्टीले बहुमत नल्याएको अवस्थामा पनि विपक्षी दलको नेता हुन्छ’, उनले भने।
डा. कैनी नेपाली मूलका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य व्यवस्थापन विज्ञ र राजनीतिकर्मी हुन्। उनले तनहुँबाट सुरु भएको आफ्नो जीवनयात्रा बेलायतको डार्टफोर्डसम्म पुर्याएका छन्।
विद्यार्थी राजनीतिमा नेविसंघ तनहुँको सचिव हुँदै सुरु भएको उनको यात्रा आज अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक, बेलायती स्थानीय सरकारका नेतृत्वकर्ता र सांसदका उम्मेदवारको पहिचानसम्म आइपुगेको छ।
बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको सञ्चालन प्रणालीबारे विश्लेषण र अनुभव, लोकतन्त्रको संस्थागत अभ्यास, पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नीति निर्माण प्रक्रिया, विविध समुदायको सहभागिता र उत्तरदायित्वपूर्ण नेतृत्वबारे डा. कैनीले आफ्नो अनुभव सुनाएका थिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टीको त्यहाँको अभ्यास एवं अनुभवले कांग्रेसलाई मात्र नभई नेपालको समग्र लोकतान्त्रिक आन्दोलनलाई झक्झक्याउने विश्वास व्यक्त गरे।